Uncategorized

बाँकेमा मनसुन सक्रिय नहुँदा बियाड सुक्ने र खेतबारीमा धाँजा फाँट्न थाल्यो

साउन ३, नेपालगन्ज ।बाँकेमा मनसुन सक्रिय नहुँदा बियाड सुक्ने र खेतबारीमा धाँजा फाँट्न थालेको छ । साउन शुरु भैसक्दा समेत वर्षा नहुँदा बाँकेमा हालसम्म ५५ प्रतिशतभन्दा बढी खेत बाँझै छन् ।जिल्लामा हालसम्म ४५ प्रतिशत मात्रै रोपाई सकिएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ । सबैभन्दा बढी रोपाई सिक्टाको नहरले धेरै ठाउँ छोएको राप्तीसोनारी गाउँपालिकामा भएको केन्द्रले जनाएको छ ।नहरका कारण राप्तीसोनारीमा सबैभन्दा बढी ८५ प्रतिशत रोपाई भएको र नरैनापुर गाउँपालिकामा सिँचाइ सुविधा नहुँदा हालसम्म ५ प्रतिशत मात्रै रोपाई भएको केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले बताए ।गत वर्ष यो समयमा बाँकेमा करिब ९७ प्रतिशत रोपाइँ सम्पन्न भैसकेकोमा अहिले ४५ प्रतिशत रोपाई भएको बताए । प्रमुख ढकालका अनुसार जिल्लामा ४५ प्रतिशत धान रोपाइँ भए पनि मनसुनी वर्षा नहुँदा अधिकांश खेतमा धाँजा पर्न थालेको छ । जसोतसो रोपाइँ गरेको धान खेत सुक्दै गएपछि धाँजा परेको हो ।वर्षा नहुँदा नरैनापुर ४ का नरेश बर्माको बोरिङ गरेर रोपाई भएको खेत पनि धाँजा फाटेर चिरिएको छ । आकाशे पानी नपरेसम्म धान उत्पादन हुन नसक्ने बर्माले गुनासो गरे । उनले बियाडसमेत सुकेर कामै नलाग्ने हुन लागेको बताए । केही दिन वर्षा नभए धान उत्पादन धेरै कम हुने उनको भनाइ छ ।साउनको पहिलो सातासम्म पानी नपरेकाले करिब १५ प्रतिशत धान उत्पादनमा कमी आउने केन्द्र नेपालगञ्जको अनुमान छ ।