लामो समय पश्चात् बर्षात भएपछि बाँकेका किसानहरु खुशी
साउन ४, नेपालगन्ज । पानी नपर्दा बाँकेमा रोपाइँ प्रभावित भएको थियो । लामो समय पश्चात् बर्षात भएपछि बाँकेका किसानहरु खुशी भएका छन् ।धानको ब्याड छिप्पिन थालेपछि किसानहरु तनावमा थिए ।यस्तै रोपिएको धान पनि सुक्न थालेको थियो । खेतमा धाँजा फाटेको थियो । असार सकिँदा ४६ प्रतिशत मात्रै रोपाइँ भएको थियो । लामो समयपछि पानी परेपछि किसानहरु हर्षित भएका छन् । उनीहरु बाँकी रोपाइँ पूरा हुने भएपछि खुसी भएका हुन् । कुलो, बोरिङ र सिक्टा नहरको पानी आउने ठाउँका किसानले धान रोपाइँ गरिसकेका छन् । बाँकेमा रहेका ठूलो भूभागमा आकाशे पानीको भरमा खेती गरिन्छ । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले साउनको ३ गतेसम्म आइपुग्दा मुस्किलले ४६ प्रतिशत रोपाइँ भएको बताए । बुधवार विहानैदेखि बर्षा शुरु भएकाले अब धमाधम रोपाइँ शुरु हुने उनको विश्वास छ ।बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धान खेती हुन्छ । राम्ररी पानी परेको बेलामा पनि यहाँको प्रतिकठ्ठा उत्पादन डेढ क्वीन्टल हाराहारीमा छ । यो वर्ष समयमा पानी नै नपरेकाले धान उत्पादन घट्ने निश्चित जस्तै भएको ढकालको भनाई छ । बाँकेमा असार १५ गते राम्ररी पानी परेको थियो । त्यसपछि अलिअलि पानी परे पनि रोपाइँ नै हुने गरी पानी परेको ढकालले जानकारी दिनुभयो ।


