समाचार

नेपालगञ्ज उप–महानगरपालिकाद्धारा अत्याधुनिक सिसिटिभी क्यामरा हस्तान्तरण

साउन ४, नेपालगन्ज ।नेपालगञ्जमा शान्ति सुरक्षा र ट्राफिक ब्यवस्थापनलाई मध्यनजर गर्दै नेपालगञ्ज उप–महानगरपालिकाले अत्याधुनिक सिसिटिभी क्यामरा हस्तान्तरण गरेको छ ।
नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीलाई बुधबार हस्तान्तरण गर्नुभयो ।नेपालगञ्जका मुख्य चोकहरुमा जडानका लागि नेपालगञ्ज उप–महानगरपालिकाले १६ वटा अत्याधुनिक सिसिटिभी खरिद गरी जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको हो । सो अवसरमा नगर प्रमुख विष्टले शहरमा अपराध नियन्त्रणका लागि सिसिटिभी आवश्यक रहेको भन्दै बताए । यसलाई नियमित सञ्चालनका लागि उप–महानगरपालिकाबाट पनि नियमित सहयोग प्रदान गरिने बताउनुभयो ।नेपालगञ्जका विभिन्न स्थानमा यसअघि ५४ वटा सिसिटिभी क्यामरा जडान भएकोमा नियमित मर्मतसम्भारको अभावमा हाल अधिकाँश सिसिटिभी क्यामरा काम नलाग्ने भईसकेका छन् । हस्तान्तरण गरिएका सिसिटिभी क्यामरा तत्कालै जडान गरिने भएको छ । हस्तान्तरण कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपाने, ब्यवसायी सञ्जय थापा लगायतको सहभागिता रहेको थियो ।