४०औं स्मृति दिवसका अवसरमा बृक्षारोपण कार्यक्रम
साउन १०, नेपालगन्ज ।नेपाली कांग्रेस खजुरा वडा नम्बर ३ कार्यसमितिले विपी कोइरालाको ४०औं स्मृति दिवसका अवसरमा मंगलवार आयोजना गरेको बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति गौडेलले केन्द्रीय नेताहरु नै गुटबन्दीमा रमाइरहेको भन्दै त्यसो नगर्न आग्रह गरे ।नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले गुटबन्दी गरेर कांग्रेस बलियो नबन्ने भन्दै सबै नेता कार्यकर्ताहरुलाई बलियो र सुदृढ कांग्रेस बनाउनतर्फ लाग्न आह्वान गरेका छन् ।
उनले संघ र प्रदेशको निर्वाचन निकट रहेकाले कांग्रेस जिताउने अभियानमा एकजुट भएर लाग्न आह्वान गरे । स्थानीय तहमा प्राप्त गरेको सफलता संघ र प्रदेशमा पनि हासिल गर्ने गरी लाग्न उनले आग्रह गरे ।
खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय परिसरमा गरिएको बृक्षरोपण कार्यक्रम वडा नम्बर ३ का सभापति शेषकान्त कँडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।सभापति गौडेल प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण कुमारी सापकोटा विशिष्ट अतिथि रहेको कार्यक्रममा नेपाली कांगेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, प्रबक्ता डिल्ली गिरी, नेतृ उमा थापा मगर, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्यलगायत अन्य नेता कार्यकर्ताको उपस्थिति थियो ।


