कांग्रेस बाँकेद्वारा प्रजातन्त्र दिवसमा दिप प्रज्वलन
नेपालगञ्ज ०७ फागुन ।दिप प्रज्वलन कार्यक्रममा बोल्दै पूर्व मन्त्री हमालले कांग्रेसकै नेतृत्वमा प्राप्त प्रजातन्त्रले मुलुकमा नागरिक अधिकार र उन्नत लोकतन्त्रको अभ्यास सम्भव भएको बताए । उनले संस्थापक नेता विपी कोइरालाको नेतृत्वमा भएको २००७ सालको आन्दोलनले मुलुकमा प्रजातन्त्रको उदय भएको स्मरण गराउँदै आजको दिनमा पार्टीलाई सुदृढ र सबल बनाउन सबै नेता कार्यकर्ताले प्रण गर्नुपर्ने बताए । हमालले प्रजातन्त्र दिवसले पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रेरणा दिने विश्वास व्यक्त गरे ।
नेपाली कांग्रेस बाँकेका सभापति गौडेलले नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्र आफूलाई परिस्कृत र परिमार्जन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको बताए । नेपाली कांग्रेसले प्रजातन्त्र र लोकतन्त्र स्थापना वा पुनःस्थापना गर्न गरेको संघर्षको जगमा अहिलेको शासन व्यवस्था सम्भव भएको बताउँदै उनले सहिदहरुको सम्झना र उनीहरुले देखाएको बाटोबाट दिग्भ्रमित हुन नहुने बताए । गौडेलले सहिदहरुलाई सम्झँदै भने-“प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्नुहुने महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु ।”
नेपाली कांग्रेस बाँकेले वडास्तरसम्म विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउन निर्देशन दिएको थियो । त्यस अनुसार सबैतिर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको सचिव कोइरालाले बताए ।


