मानव बेचबिखन नियन्त्रण गर्न सिमाना र सम्बन्ध सुधार हुनुपर्छ: मुख्यमन्त्री आचार्य
लुम्बिनी, २८ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खुला सिमानाको सहज पहुँचलाई दुरुपयोग गर्दै मानव बेचबिखनका गिरोहहरू सक्रिय रहेकोप्रति चिन्ता व्यक्त गर्नु भएको छ । नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै, यस समस्याको समाधानका लागि दुई देशबीच विशेष नीति अवलम्बन गर्नुपर्ने आवश्यकता मुख्यमन्त्री आचार्यले औंल्याउनु भएको हाे । सुरक्षित आप्रवासनमार्फत मानव बेचबिखन नियन्त्रण सम्बन्धी इन्डो-नेपाल क्षेत्रीय संवाद कार्यक्रमकाे लुम्बिनीमा साेमवार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले नेपालमा शिक्षा, चेतना र रोजगारीको अभावले पनि मानव बेचबिखनकाे समस्या देखिनु गम्भीर बिषय भएको बताउनु भयाे ।`लुम्बिनी प्रदेशको भारतसँग लामो सिमाना मात्र होइन, गहिरो सामाजिक र सांस्कृतिक सम्बन्ध पनि छ। त्यसैले, कतिपय समस्याहरू हामी छिमेकी मिलेर नै समाधान गर्न सक्छौं। तर मानव बेचबिखन नियन्त्रण तथा सुरक्षित आप्रवासन सुनिश्चित गर्न राष्ट्रस्तरीय नीति आवश्यक पर्छ´मुख्यमन्त्री आचार्यले भन्नुभयाे-`दुबै देशले सिमानामा बिशेष नीति अवलम्बन गर्नुपर्ने आवश्यकता छ ।´
प्रदेश सरकारले सुरक्षित आप्रवासनलाई प्रवर्द्धन गर्दै, अवैध आप्रवासन तथा मानव बेचबिखन रोक्न विभिन्न कार्यक्रम अघि सारेको उनले बताउनु भयाे । सचेतना अभियान सञ्चालन, सीपमूलक तालिम, सुरक्षित रोजगारीको प्रवर्द्धन तथा सीमा निगरानीलाई कडाइ गर्न प्रदेश सरकारले पहल गरिरहेको बताउनु भयाे ।
मुख्यमन्त्री आचार्यले नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा संयन्त्रलाई सशक्त बनाउन र मानव बेचबिखनविरुद्ध दुवै देशले साझा रणनीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयाे ।
बेस संस्थाका संस्थापक तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीकाे अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियाे । नेपाल र भारतका नीति निर्माता, नागरिक समाज, तथा सरोकारवालाकाे सहभागीतामा सुरक्षित आप्रवासन र मानव बेचबिखन रोकथामका रणनीति, लुम्बिनी प्रदेशमा आप्रवासन र मानव बेचबिखन नियन्त्रणको रणनीति विकासकाे बारेमा छलफल गरिएको थियाे ।


