नेपालगन्जमा प्रभातफेरि र स्वास्थ्य जाँच गरेर मनाइयो विश्व प्रेस स्वतन्त्रता दिवस
बाँके २० बैशाख । विभिन्न कार्यक्रम गरी नेपाल पत्रकार महासंघ बाँकेले ३२औँ विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ । दिवसका अवसरमा नेपाल पत्रकार महासंघ बाँकेले नेपालगन्जमा प्रभातफेरी र स्वास्थ्य शिविर आयोजना गरेको थियो । न्यूरोडस्थित सेतु विक चोकबाट सुरु भएको प्रभातफेरी बसपार्क नजिक रहेको महासंघको कार्यालयमा पुगेर समापन भएको थियो ।
महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अगुवाईमा गरिएको प्रभातफेरीमा बाँकेमा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो । प्रभातफेरी पश्चात् महासंघको कार्यालयमा नसर्ने रोग सम्बन्धि निःशुल्क स्वास्थ्य परीक्षण शिविर पनि आयोजना गरिएको थियो ।
नेपालगन्ज उपमहानगरपालिकाको सहकार्य र शिखर हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टर नेपालगन्जको सहयोगमा सञ्चालित शिविरमा पत्रकारहरूको रगत, पिसाब र ब्लड प्रेसर परीक्षण गरिएको शाखा सचिव कृष्ण ओलीले जानकारी दिए ।
उनका अनुसार शिविरमा ५० जना पत्रकारहरूको स्वास्थ्य जाँच गरिएको थियो । यसवर्ष ‘नयाँ साहसिक संसारमा रिपोर्टिङः प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभाव’ भन्ने मूल नाराका साथ ३२औँ प्रेस स्वतन्त्रता दिवस मनाइएको थियो ।
सन् १९९३ को संयुक्त राष्ट्रसंघको साधारणसभाले अनुमोदन गरेपछि यो दिन संसारभरी प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो । हरेक वर्षको मे ३ तारिखमा विश्वभरी सञ्चारका माध्यमहरूको स्वतन्त्रताका मुद्दा, मापदण्ड र महत्वको विषयमा पैरवी अनि बहस गरिँदै समाचार संकलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरूको योगदानको सम्झना र सम्मान गर्दै मनाइन्छ । संयुक्त राष्ट्र संघीय युनेस्कोको आह्वानमा यो दिवस मनाइने क्रमको सुरुआत भएको थियो ।


