विपद् पूर्वतयारी तथा प्रतिकार्य तालिम सम्पन्न
नेपालगञ्ज २४ जेष्ठ । नेपाल रेडकस सोसाइटी बैजनाथ उपशाखाको आयोजनामा ३ दिने विपद् पूर्वतयारी तथा प्रतिकार्य तालिम शनिबार सम्पन्न गरिएको छ।
बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको उक्त तालिममा रेडक्रसकर्मी, वडाका जनप्रतिनिधि र समाजसेवीहरूको सहभागिता रहेको थियो ।
बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायाले विपद् व्यवस्थापनमा रेडक्रसले खेलेको भूमिका उल्लेखनीय रहेको बताउँदै आगामी दिनमा उपशाखा भवनको लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्न गर्नुभयो।
तालिममा विपद् शब्दावली, विपद् व्यवस्थापन चक्र, विपद् लेखाजोखा, विपद् जोखिम व्यवस्थापनमा स्थानीय तहको भूमिका, राहत मापदण्ड, स्थानीय विपद् व्यवस्थापन समितिको काम कर्तव्य तथा अधिकार, स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र, विपद् सम्बन्धी विद्यमान कानुनहरू, तातो हावाको लहर ‘लु’ लगायत विषयमा सैद्धान्तिक ज्ञान र व्यवहारिक अभ्यासको माध्यमबाट प्रशिक्षण दिएको थियो।
समापन कार्यक्रममा सहभागीहरूले सिकेको कुरा बताउँदै आगामी दिनमा वडा स्तरमा राहत व्यवस्थापन, पूर्व तयारीका योजनाहरू, प्राथमिक उपचारको तालिम, झटपट झोला व्यवस्थापन र वितरण गर्नुपर्ने जस्ता सुझाव व्यक्त गरेका थिए।
नेरेसो बैजनाथ शाखाका सभापति प्रकाशचन्द चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकाया र सहभागीहरुले विचार राखेका थिए भने प्रशिक्षणको सहजीकरण बैजनाथ गाउँपालिकाका विपद् फोकल तप्तराज आचार्य नेपाल रेडक्रस बाँकेका कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा र नेरेसो कोहलपुर उपशाखाका युवराज पोखरेलले गर्नु भएको थियो। कार्यक्रम सञ्चालन नेरेसो बैजनाथ उपशाखाका सचिव राजाराम शर्माले गर्नुभएको थियो।।


