भारतबाट अवैद्य कुखुरा तस्करी
साउन ५, नेपालगन्ज । नेपालगन्जमा भेलामा प्रशासनले अवैद्य आयात रोक्ने जिम्मेवारी पूरा नगर्दा नेपाली व्यवसायीहरु धराशायी हुने अवस्थामा पुगेको बताएका छन् ।भारतबाट अवैद्य कुखुरा तस्करी भएर नेपाली कुखुरा बिक्रि हुन छाडेपछि पोल्ट्रि व्यवसाय सम्बद्धहरुले प्रशासनप्रति आक्रोश व्यक्त गरेका छन् । बाँकेमा अवैद्य रुपमा कुखुराहरु तस्करी भइरहेको र त्यसमा प्रहरी मुकदर्शक बनेको उनीहरुको अरोप छ । कुखुरा व्यवसायी संघ बाँकेका कार्यवाहक अध्यक्ष ईश्वर सुवेदीले बताए । बाँकेका किसानका कुखुराहरु बिक्री नहुँदा किसानहरुले लाखौँको घाटा व्यहोरिरहेका बताए । तर बजारमा मासु बिक्रेताहरुले भारतीय कुखुराहरु बेचिरहेको उनको भनाइ छ ।तस्करहरुले भित्र्याएका भारतीय कुखुरा मासु व्यापारीहरुले एक सय १२ रुपैयाँमा किनेर उपभोक्तालाई चार सय ४० रुपैयाँसम्ममा बेचिरहेका कुखुरा पालक किसानहरुले बताएका छन् । एकातिर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड भइरहेको र अर्कोतिर नेपाली पोल्ट्री सम्बद्ध व्यवसायीहरु धराशायी हुने अवस्थामा पुगेका उनीहरुको भनाइ छ । उनीहरुले तत्कालै तस्करी रोक्न परिणाममुखि कदम चाल्न प्रशासनसँग माग गरेका छन् ।नेपाल कुखुरा व्यवसायी मन्च बाँकेले संयोजन गरेको छलफलमा नेपाल पोल्ट्रि महासंघका उपाध्यक्ष टीकाराम पोखरेल, नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरी, नेपाल ह्याचरी उद्योग संघका वरिष्ठ उपाध्यक्ष लक्ष्मी मानन्धर लगायत पोल्टी व्यवसायी, ह्याचरी व्यवसायी, कुखुरा उत्पादक किसान, मासु व्यवसायी, दाना उद्योगी लगायतका प्रतिनिधिहरु सहभागी थिए । छलफलपछि व्यवसायीहरुले व्यवसायिक हितमा काम गर्ने उदेश्यले धर्मराज पोखरेलको संयोजकत्वमा कुखुरा व्यवसायी मन्च गठन पनि गरेका छन् । मन्चले हाल भइरहेको तस्करी रोक्न तत्कालै दबाबमूलक कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।


