नेपालगञ्जको अलपत्र अवस्थामा रहेको छात्राबासलाई पूर्णता दिनका लागि पहल
साउन १२, नेपालगन्ज । नेपालगञ्ज उप–महानगरपालिकाका मेयर प्रशान्त विष्टले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको अलपत्र अवस्थामा रहेको छात्राबासलाई पूर्णता दिनका लागि पहल गरेका छन् ।मेयर विष्टको पहल र समन्वयमा भारतीय राजदुताबासका शाखा अधिकृत चन्द्रप्रकाश नेतृत्वको टोलीले बिहीवार अलपत्र अवस्थामा रहेको छात्राबास र क्याम्पसका जीर्ण भवनको स्थलगत अनुगमन गरि जानकारी लिएको छ ।सो अवसरमा भारतीय दुताबासका शाखा अधिकृत चन्द्र प्रकाशले दुताबासको सहयोग भएपनि भवन निर्माण कार्य अलपत्र परेकोमा भारत सरकार दुःखित भएको बताए ।निर्माण ब्यवसायीको कमजोरीका कारण डिग्री भवन र छात्राबास भवन अलपत्र भएको भन्दै उनले छात्राबासको पूर्णताका लागि पुनः लागत स्टिमेट तयार गरि दुताबासको सम्पर्कमा आउन आग्रह गरे । सो अवसरमा मेयर विष्टले अधुरो रहेको डिग्री भवन उपमहानगरपालिकाको आर्थिक सहयोगमा पूर्णता दिइएको जानकारी दिए ।छात्राबासँगै क्याम्पसका बर्षौ पुराना भवन निर्माणमा सहयोग गर्न मेयर विष्टले भारतीय दुताबासलाई आग्रह गरे ।मब क्याम्पस नेपालगञ्जका प्रमुख लालमणी आचार्यले क्याम्पसमा रहेका जीर्ण भवन निर्माण तथा छात्राबासलाई पूर्णता दिनका लागि नेपालगञ्ज उपमहानगरपालिका र भारतीय दुताबास समक्ष माग गरिएको जानकारी दिए ।मेयर विष्टले आफुले उच्च शिक्षा अध्ययन गरेको र राजनीतिको शुरुवात गरेको क्याम्पस भएका कारण मब क्याम्पसको भौतिक र शैक्षिक सुधारका लागि सक्दो प्रयत्न गर्ने प्रतिवद्धता जनाए ।


