मास मण्डीका व्यापारीले काट्नको लागि लुकाएका ६ वटा बाख्रा फेला
बाँके १४ असोज । संयुक्त बजार अनुगमन टोलीले शुक्रबार नेपालगन्जको रामलिला मैदान नजिकैको मासु मण्डीका व्यापारीहरुले काट्नको लागि लुकाएर राखेका ६ वटा बाख्राहरु फेला परेको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भेटेरीनरी कार्यालय, नेपालगन्ज उप–महानगरपालिका एवम् उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि तथा पत्रकारहरु सहभागी भएको अनुगमन टोलीले जिल्ला प्रशासन कार्यालय बाँकेको परिसरको कुनामा र नेपालगन्ज उप–महानगरपालिकाले निर्माण गरेको सार्वजनिक शौचायको पछाडिपट्टि बाख्राहरु लुकाएर राखेको अवस्थामा फेला परेका हुन् ।
अनुगमन टोलीले उक्त बाख्रा सहित एउटा खसी र एउटा भेडा प्रशासनको परिसरमा राखिएको फेला पारेको हो । अनुगमन टोलीले जिल्ला प्रशासनमा खबर गरेपछि प्रशासनका सुरक्षाकर्मीले ती खसी र बाख्राहरु नियन्त्रणमा लिएकाले कानुन अनुसार कारबाही अघि बढाइने प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले बताएका छन् । अनुगमनका क्रममा स्थानीय चाँद खसी मासु फ्रेस हाउसका सञ्चालकले मासु मापदण्डको उल्लंघन गर्दै काठमाडौं पठाउन लागेको पाइएको छ ।
खसीको खुर र फल मासु एउटै प्याकेजमा आइस समेत नहालेर पठाउन लागेको फेला पार्नुको साथै पसल सञ्चालकलाई अनुगमन टोलीले मापदण्ड पालना गरेर मात्रै मासु पठाउन निर्देशन दिएको छ ।
ती मासु पसलले भेटेरीनरी प्रमाणपत्र समेत नबनाएर मासु काठामाडौं पठाउन लागेको फेला परेको छ । यस्तै अनुगमन टोलीले नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ स्थित मासु पसलहरुको पनि अनुगमन गरेको छ ।
त्यस क्रममा त्यहाँ रहेका कुनै पनि मासु पसलले मापदण्ड पालना नगरेको, फोहोर वातावरणमा मासु बेचिरहेको पाइएको छ । फिल्महलको पछाडिको ढोकाकै छेउमा रहेको एक मासु पसल पनि ३ वर्षदेखि दर्ता बिनै सञ्चालनमा रहेको पाइएपछि प्रक्रिया पुरा नहुन्जेलसम्म सञ्चालनमा रोक लगाइएको छ ।
सबै मासु पसलहरुलाई सबै मापदण्ड पालना गर्न निर्देशन दिँदै अर्काे पटक सुधार नगरिएको पाइए कारबाही गरिने अनुगमन टोलीले बताएको छ ।


