खेलमा बागेश्वरीले डिफेन्डिङ च्याम्पियन पशुपति मावि राझाँलाई २-० ले पराजित
बाँके १३ माघ । बागेश्वरी एकेडेमी कोहलपुरले मेयर कप अन्तर विद्यालय छात्र-छात्रा फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । नेपालगन्ज धम्बोझीमा शनिबार देखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा बागेश्वरीले डिफेन्डिङ च्याम्पियन पशुपति मावि राझाँलाई २-० ले पराजित गरेको छ । विजेता बागेश्वरीका लागि दुबै गोल सुदिप थापाले गर्नु भएको थियो । थापाले खेलको १८औं मिनेट र ७२आंै मिनेटमा गोल गर्नु भयो । खेलमा म्यान अफ द म्याच भएका सुदिपलाई नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १ अध्यक्ष प्रमोद रिजालले पुरस्कृत गर्नु भयो ।
शनिबार एक समारोहका बिच नेपालगन्ज उप-महानगरपालिकाका कार्यबहाक मेयर कमरुद्धिन राईले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १ अध्यक्ष रिजाल, लुम्बिनी प्रदेश फुटबल संघका सदस्य मोहन थापा, प्रतियोगिता संयोजक एवम बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष निर्मल चन्द, उपाध्यक्ष अनिल केसी, टोपेन्द्र खत्री लगायतको उपस्थिती रहेको थियो ।


