Uncategorized

खेलाडीका सन्तानको निःशुल्क उपचार, निःशुल्क शिक्षा, रोजगारी र बीमाको व्यवस्था

नेपालगन्ज ०५ भदौँ । नेपाल प्रेस युनियन बाँके शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले खेलाडीका सन्तानको निःशुल्क उपचार, निःशुल्क शिक्षा, रोजगारी र बीमाको व्यवस्था गर्न सरकारले अन्तिम गृहकार्य गरिरहेको बताए । मन्त्री चौधरीले खेलाडीको विदेश पलायन रोक्न सरकारले छिट्टै यी कार्यक्रम लागू गर्ने तयारीमा रहेको जानकारी दिए । उनले तत्काललाई अन्तर्राष्ट्रिय खेलाडीलाई यी सुविधा दिइने बताए ।सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र व्यवस्थापनबारे जानकारी लिएर फर्किएका चौधरीले प्रतियोगितामा ३६ खेलहरु खेलाइने भएपनि बढीमा २४ खेल मात्र सुर्खेतमा सम्भव देखिएकाले बाँकी खेल नेपालगञ्ज र कोहलपुरमा खेलाउने विषयमा छलफल र अवलोकन गर्न आफू नेपालगञ्ज आएको बताए । मन्त्री चौधरीले खेलाडीको बसाइँ व्यवस्थापन समेत सुर्खेतमा गाह्रो देखिएकाले नेपालगञ्ज र कोहलपुरमा पनि व्यवस्थापन गर्ने विषयमा छलफल गरिने बताए । उनले पूर्वाधार तयारी नसकिए प्रतियोगिताको मिति सर्ने संकेत गरे । तर, यथासम्भव निर्धारित मितिमै प्रतियोगिता गर्ने गरी तयारीमा जुटेको स्पष्ट पारे । पत्रकार सम्मेलन जिल्ला अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा सम्पन्न भएको थियोे । पत्रकार सम्मेलनमा कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको पनि उपस्थिति थियो ।
पार्टी कार्यकर्तामाझ युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए । उनले खेलाडीहरुलाई खेलमा टिकाइराख्न सरकारले विशेष कार्यक्रम ल्याउन लागेको बताए । खेलाडीको वृत्ति विकासमा पनि सरकारले विशेष ध्यान दिने उनको भनाई छ । सुर्खेतमा आगामी मंसिरमा हुन लागेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन बाँकेको विशेष भूमिका रहने मन्त्री चौधरीले बताए । युवाका लागि पनि मन्त्रालयले विशेष कार्यक्रम संचालन गरेकाले त्यसमा जोडिएर लाभ लिन उनले आग्रह गरे । नेपाली कांग्रेस बाँकेका सभापति गौडेलले बाँके खेलकुदको उर्वर भूमी भएकाले विशेष ध्यान मन्त्री चौधरीसमक्ष आग्रह गरे । उपसभापति गोपाल प्रसाद अधिकारीले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको संचालन सचिव सुधांशु कोइरालाले गरेका थिए । त्यसपछि मन्त्री चौधरीले नेपालगञ्ज रंगशालाको निरीक्षण गरे । नेपालगञ्ज रंगशालामा निर्मित सेन्थेटिक ट्रयाक उप्किएको समाचार सार्वजनिक भएपछि त्यसको अवस्था अवलोकन गर्न उहाँ रंगशाला पुगेका हुन् । त्यसक्रममा मन्त्री चौधरीले उप्किएको सेन्थेटिक ट्रयाक तत्काल मर्मत गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । उनले हस्तान्तरण नहुँदै प्राविधिक कमजोरी देखिनु सुखद पक्ष नभएको भन्दै फेरि समस्या नहुने गरी तत्काल मर्मत गर्न निर्देशन दिएका हुन् । ूतपाईंहरुले हस्तान्तरण अझै गर्नुभएको छैन, त्यसपछि पनि मर्मत अवधि दुई बर्ष हुन्छ,ू उनले भने(ूकुनै गुनासो नआउने गरी काम गर्नुस्, गुणस्तरियतामा कम्प्रमाइज गर्न पाउनुहुन्न ।ू मन्त्रीको निर्देशनपछि निर्माण कम्पनीका प्रतिनिधिले केही कमजोरी भएको स्वीकार गर्दै पानी परिरहेका बेलामा मर्मत गर्न नसकिने भएकाले घाम लागेर भित्रको भाग सुक्ने वित्तिकै मर्मत गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । सेन्थेटिक ट्रयाक उप्पिएको समाचार सार्वजनिक भएपछि यस विषयमा अध्ययन गर्न राष्ट्रिय खेलकुद परिषदले राखेपका सदस्य समेत रहेका नेपाली क्रिकेटका पूर्व राष्ट्रिय कप्तान एल।बी। क्षेत्रीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । समितिले आजै मन्त्री चौधरीलाई प्रतिवेदन बुझाएको छ ।