Uncategorized

जानकीमा चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तिब्र

जानकी १५ बाँके । जानकी गाउँपालिकाले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तिब्रता दिएको छ । चाडपर्वको समयमा अखाद्य वस्तुको विगविगी र बजार महँगो भएको जनगुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले अनुगमन सुरु गरेको छ । अनुगमनका क्रममा विभिन्न पसलहरुमा म्याद गुज्रेका अखाद्य वस्तु र पसलहरु दर्ता नभई सञ्चालन भएको पाइएको छ ।

जानकी गाउँपालिकाको समन्वयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले बजार अनुगमनलाई तिब्रता दिएको हो । वाणिज्य, आपूर्ति, खाद्या प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नापतौल कार्यालय तथा उपभोक्ता हित संरक्षण मञ्चले पालिकाका विभिन्न वडामा रहेका पसलहरुको अनुगमन गरेका हुन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख हरि वहादुर खत्रीले अनुगमनका क्रममा पसलहरुमा म्याद गुज्रिएका वस्तुहरु, दर्ता नै नभएका व्यवसायहरु सञ्चालनमा आएको भेटिएको बताए । अनुगमनका क्रममा जानकी(६ गनापुरमा रहेको वण्डरल्याण्डको राएरा रेष्टुरेन्ट एण्ड बार र सोही ठाउँमै रहेको बिनोद किराना पसल गरी अन्य केही पसललाई ३५ हजारसम्म जरिमाना समेत गरी उनीहरुलाई सचेत गराइएको प्रमुख खत्रीले बताए । उनले पुनः यस्तो भेटिएमा कानुन वमोजिम कारवाही हुने बताए ।

अनुगमनका क्रममा मासु पसलमा सरसफाईमा कमी रहेको र सरसफाई राम्रोसँग गर्न तथा खानेकुराहरुलाई छोपेर राख्न निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँकेकी प्राविधिक सहायक लक्ष्मी ढकालले बताइन् । उपभोक्ता हित संरक्षण मञ्च नेपालगञ्जका संयोजक बसन्त गौतमले मौसमीरुपमा मात्र नभई समय समयमा अनुगमन गर्नुपर्ने बताए । गौतमले व्यवसायीको बदमासी र कालोबजारीका कारण उपभोक्ता मारमा परेको भन्दै सरोकारवाला निकायले अनुगमनलाई नियमित गर्नुपर्ने बताए ।

उपभोग्य वस्तुमा मिसावट, म्याद गुज्रेको र फोहोर समेत भेटिएकोले जानकी गाउँपालिकाले अनुगमन गर्दा पालिकाको कार्यविधि अनुसार मापदण्ड बनाई विक्रिवितरण गर्न व्यवसायीहरुलाई सुझाब दिइएको छ । कतिपय व्यवसायहरु गैरकानुनीरुपमा सञ्चालन भएकोले दुई हप्ताभित्रमा कानुनी प्रक्रियामा आउन आग्रह समेत गरिएको अनुगमन समिति जानकीका संयोजक जितबहादुर श्रेष्ठले बताए ।

मासु पसल व्यवसाय सञ्चालन गरेका व्यवसायीहरुले भारतबाट खुल्लारुपमा चोरी निकासी गरी आउने कुखुराका कारण नेपाली व्यवसायीहरु मारमा परेको गुनासो गरेका छन् । वडा नम्वर ४ का मासु व्यवसायी कुर्वान भाटले अनुगमन टोलीसमक्ष यस्तो गुनासो सुनाएका थिए । अनुगमनका क्रममा व्यवसायीको मनोमानी र अखाद्य वस्तु मिसावटका कारण उपभोक्ताहरुको स्वास्थ्यमाथि खेलवाड भएको छ भने कालोबजारीका कारण उपभोक्ताहरु मारमा परेका छन् ।