स्वास्थ्य संस्थाहरूलाइ मापदण्ड पालना गरेर सेवा प्रवाह गर्न निर्देशन
 
			दाङ १९ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजी क्षेत्रबाट सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाइ सरकारद्वारा निर्धारण गरिएका नीति, नियम र मापदण्डहरूको पूर्णरूपमा पालना गरेर सेवा प्रवाह गर्न निर्देशन दिनु भएको छ ।
राप्ती लाइफ केयर हस्पिटल प्रा.लि. मोतिपुरको भवन उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्र अति संवेदनशील भएको उल्लेख गर्दै सरकारले निर्धारण गरेका मापदण्डहरूको पालनामा जाेड दिनुभयाे ।`याे अस्पतालले निति, नियम, मापदण्ड पालना गरेकाे कुरा प्रतिबेदनबाट जान्न पाइयाे । भबिस्यमा पनि सरकारले बनाएकाे मापदण्ड अनुसारनै अघि बढ्ने छ´उहाँले भन्नुभयाे-`जति पनि अन्य स्वास्थ्य संस्था छन तिनले पनि मापदण्ड पूर्ण पालना गर्न जरुरी छ ।´
उहाँले प्रदेश सरकारले स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राख्दै सर्वसुलभ र सबै नागरिकको पहुँचमा पुर्याउने नीति लिएको बताउनुभयो । उपचार सेवा मात्र होइन, स्वस्थ्य र सन्तुलित जीवनशैलीका लागि सरकारको प्राथमिकतामा राखिएको उहाँले उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री आचार्यले भन्नुभयो,`स्वास्थ्य क्षेत्र प्रत्येक नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र हो । त्यसैले राज्यका नीति, नियम र मापदण्डको पूर्ण पालना गर्दै निजी क्षेत्रका अस्पतालहरू अघि बढ्नुपर्छ। प्रदेश सरकार निजी क्षेत्रलाई निरुत्साहित गर्ने नीति लिँदैन, बरु हातेमालो गर्दै अगाडि बढ्ने नीति अवलम्बन गर्छ। निजी क्षेत्रबाट हुने लगानीलाई सुरक्षित राख्दै, नियमनका माध्यमबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सरकार प्रतिबद्ध छ ।´
भवन उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, स्थानीय जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मी, नागरिक अगुवा, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।


 
				 
  
                 
                 
                 
                