वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह
दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योगहरू बन्द हुन पुगेका, सयौं श्रमिकहरू रोजगारीविहीन बनेका र स्थानीय अर्थतन्त्रमा नकारात्मक असर परेको प्रदेश सरकारको बुझाइ छ ।
मुख्यमन्त्री आचार्यले बुधबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा संघीय सरकारले अभिभावकको भूमिकामा रही नेपाल विद्युत् प्राधिकरण र उद्योग सञ्चालकहरूबीच संवाद र सहकार्यका माध्यमबाट दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औंल्याउनुभएको हाे ।
उहाँले उद्योग व्यवसायमा विश्वास पुनःस्थापना गर्न, श्रमिकहरूको हकहित जोगाउन र आर्थिक सन्तुलन कायम गर्न सबै पक्ष जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड दिनुभएको छ ।
विज्ञप्तिमा लुम्बिनी प्रदेश सरकार उद्योग व्यवसायको प्रवर्द्धन, श्रमिक हित संरक्षण र प्रदेशको समग्र आर्थिक विकासका लागि निरन्तर प्रतिबद्ध रहेकाे जनाइएको छ ।


