राजनीति

लुम्बिनीका मुख्यमन्त्री आचार्य खुला केन्द्रीय सदस्यका उम्मेदवार

काठमाडौं २९ मङ्सिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा खुला तर्फ केन्द्रीय सदस्यका उम्मेदवारका रूपमा मनोनयन दर्ता गर्नुभएको छ ।

संघीयता सुदृढीकरणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएका आचार्यले खुला केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिनुभएको हो ।

नेकपा एमालेका अनुभवी, अनुशासित र परिणाममुखी नेताका रूपमा आचार्यको पहिचान स्थापित छ । संगठन निर्माणदेखि प्रदेश शासनसम्मको लामो राजनीतिक यात्रामा उहाँले व्यवहारिक नेतृत्व, कडा निर्णय क्षमता र सरल जीवनशैलीमार्फत आफ्नै पहिचान बनाउनु भएको छ । हाल उहाँ लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा निवर्तमान एमाले केन्द्रीय सदस्य हुनुहुन्छ ।

राजनीतिक यात्रा
आचार्यको राजनीतिक यात्रा २०३९ सालमा अनेरास्ववियूबाट सुरु भएको हो । २०४७ सालमा जिल्ला कमिटी सदस्य,
२०५४ सालमा जिल्ला सचिव,
२०६९ देखि २०७८ सालसम्म जिल्ला अध्यक्ष,
त्यसपछि पार्टी केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्नुभएको हो ।

उहाँ दुई पटक प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको छ । यस अवधिमा आन्तरिक मामिला, सहरी विकास तथा खानेपानी, आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै हाल मुख्यमन्त्रीको भूमिकामा पुग्नुभएको हो ।

प्रदेश नेतृत्व र शासन शैली
लुम्बिनी प्रदेशको नेतृत्व सम्हाल्दा सरकार गम्भीर आर्थिक संकटमा थियो । अघिल्ला वर्षका भुक्तानी बाँकी, नीति तथा योजना अव्यवस्थित र सुशासनप्रति जनविश्वास कमजोर अवस्थामा थियो । आचार्यले बाँकी भुक्तानी टुंग्याउँदै, खर्चमा अनुशासन कायम गर्दै र योजना प्रणालीलाई स्पष्ट दिशामा अघि बढाउनुभयो ।

पूर्व विशिष्ट पदाधिकारीका सेवा-सुविधा कटौती, पाँच लाख रुपैयाँभन्दा माथिका योजना प्रतिस्पर्धाबाट कार्यान्वयन गर्ने निर्णय तथा सुशासनलाई प्राथमिकतामा राख्ने कार्यशैली उहाँको नेतृत्वका मुख्य विशेषता बनेका छन् ।

विकास र सामाजिक उपलब्धि
आचार्यको नेतृत्वमा प्रदेशका गौरव आयोजना तीव्र गतिमा अघि बढेका छन् ।

एक हजार दुई सय शैयाको लुम्बिनी प्रादेशिक अस्पताल निर्माण, राजधानी क्षेत्र विकास र प्रशासनिक भवन अन्तिम चरणमा, रामपुर-कपुरकोट सडकसहित प्रमुख लोकमार्गमा प्रगति, प्रादेशिक सडक गुरुयोजना तथा पुल-पुलेसा विस्तार भएका छन । यस्तै सामाजिक क्षेत्रमा पनि उल्लेखनीय काम भएका छन् । नयाँ खानेपानी आयोजना,
कृषि यान्त्रीकरण र सिंचाइ विस्तार,
‘मेरो विद्यालय, मेरो दायित्व’ अभियानमार्फत शैक्षिक सुधार, मातृ-बाल स्वास्थ्य, क्यान्सर र मृगौला उपचारमा विशेष सुविधा दिइएको छ ।

संघर्ष र प्रेरणा
२०७२ सालमा क्यान्सरजस्तो गम्भीर रोगसँग जुधेर पुनः राजनीतिक सक्रियतामा फर्किनु आचार्यको जीवनको महत्वपूर्ण मोड हो । भक्तपुर क्यान्सर अस्पतालदेखि भारतको मेदान्त अस्पतालसम्मको उपचार र प्राकृतिक चिकित्सापछि उहाँ पुनः दह्रो भएर संगठन र जनताबीच उभिनुभयो । यही संघर्षले उहाँलाई अझ दृढ र आत्मविश्वासी नेता बनाएको छ ।

पार्टीभित्रको छवि
अनुशासन, संगठन विस्तारप्रतिको प्रतिबद्धता, स्पष्ट कार्यशैली र सरल व्यक्तिगत जीवन आचार्यका मुख्य विशेषता मानिन्छन् । प्रदेश नेतृत्वमा देखिएको परिणाममूलक कामका कारण उहाँ एमालेभित्र भरपर्दो र जिम्मेवार नेताका रूपमा स्थापित हुनु भएको छ ।

राजनीति