४१औं विपी स्मृति दिवसका अवसरमा बाँकेको डुडुवामा बृक्षारोपण
साउन १२, नेपालगन्ज । ४१औं विपी स्मृति दिवसका अवसरमा बाँकेको डुडुवामा विहीबार बृक्षारोपण गरिएको छ । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ को आयोजना तथा डुडुवा गाउँपालिका कार्यसमितिको समन्वयमा डुडुवा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन परिसरमा बृक्षारोपण गरिएको हो ।क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ताको अध्यक्षता एवम् केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यता तथा जिल्ला सभापति नारायणप्रसाद गौडेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले संगठन निर्माणमा इमान्दारीपूर्वक लाग्न आह्वान गरेका छन् ।गुट उपगुट नभनी कांग्रेस बनाउनतर्फ लाग्न उनीहरुको आग्रह छ । विपीले बनाएको पार्टीलाई विपीको विचार र आदर्शमा हिँडाउन सबै मन, बचन र कर्मले प्रतिबद्ध हुनुपर्ने भन्दै बक्ताहरुले विपीलाई सम्झेर कांग्रेस बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिए ।उक्त कार्यक्रममा केन्द्रीय सदस्य बाल्मिकी, जिल्ला सभापति गौडेल, निवर्तमान जिल्ला सभापति किरण कोइराला, नेताहरु निरन्जनसिंह सिजापति, लक्ष्मीनारायण शाह, जिल्ला समन्वय समिति प्रमुख एवम् प्रदेश २ (क) का सभापति ज्ञानेन्द्रकुमार चौधरी, डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी लगायतले बोलेका थिए ।बृक्षारोपण कार्यक्रममा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, लुम्बिनी प्रदेश कार्यसमिति सदस्य, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेश क्षेत्र कार्यसमितिका पदाधिकारी एवम् सदस्य लगायतको उपस्थिति थियो ।


