चर्चित गायक परियार र गायिका तारामीको बेजोड प्रस्तुति

नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा बुधबार राष्ट्रिय ख्याती प्राप्त गायक शिव परियार, गायिका जानकी तारामी र उद्धोषक सञ्जय देवकोटाले दर्शकलाई भरपुर मनोरञ्जन दिएका हुन ।
बजारमा आइसकेका आफ्ना बिभिन्न एलबमहरुको विश्लेषण गर्दै गायक परियारले नेपालगञ्ज महोत्सवमा दर्शकमाझ व्यापक चर्चा कमाएका लोकप्रिय गीतहरु प्रस्तुत गरेका छन । सर्लाहीमा जन्मिएका नेपाली गायक परियार शास्त्रीय संगीत सिकेर, संगीत प्रशिक्षण र व्यावसायिक गायनमा लागेर आफुलाई नेपालको टपमा स्थापित गर्न सफल भएका छन । यसबाहेक उनी नेपाली चलचित्रहरूका लागि पनि गीत गाउने गर्छन ।
नेपालगञ्जवासी माझ गायक परियारले आफ्ना बिभिन्न लोकप्रिय गीतहरु मध्ये पिउदिन भन्दा भन्दै पिलायो साथी, आशुको अर्थ लगायतका गीत प्रस्तुत गर्दै मनोरञ्जन गराएका थिए । त्यस बेला उनले आफ्नो विदेशको यात्रा क्रममा बटुलेको मिठो अनुभव पनि सुनाएका थिए । नेपालको गीतसंगीत क्षेत्रमा ठूलो योगदान पुर्याएका उनले नेपालगञ्ज महोत्सवको मञ्च पाउदा खुसी व्यक्त गर्दै आयोजकलाई धन्यवाद समेत दिए ।
यस्तै, गायिका जानकी तारामीको एक हप्ता अगाडि आएको नयाँ भेनाको जातैले बोलको गीत पहिलो पटक नेपालगञ्जमा प्रस्तुत गरेकी थिइन । उनले आफ्ना बिभिन्न लोक गीतहरु प्रस्तुत गर्दै दर्शकलाई नचाएकी थिइन । उनले टिकटकमा भाइरल गीतहरु समेत प्रस्तुत गरेकी थिइन । उनले आफ्नो विद्यार्थी जिवनको साथीसंग पनि नेपालगञ्जमा आजै आएर भटेको बताइन । उनी कोहलपुर र खजुरामा यस अघि आएको भएपनि महोत्सवमा नेपालगञ्ज पहिलो पटक आएको जानकारी दिइन ।
महोत्सवका प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलका अनुसार भोलि बिहीबार गायक एवं मोडल दुर्गेश थापा, गायिका भूमिका गिरी आउने भएका छन ।
स्थानिय गायक अशोक रावलको समेत प्रस्तुति रह्नेछ भने कार्यक्रम उद्धोषक सञ्जय देवकोेटा र उद्धोषिका प्रेरणा गिरीले संचालन गर्ने तय भएको महोत्सव स्थित सचिवालयले जनाएको छ ।
यस्तै, दर्शकको थप मनोरञ्जन र स्थानिय कलाकारको उत्पादन गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेश स्तरीय नृत्य प्रतियोगिता भईरहेको छ । महोत्सवमा एस एम कला केन्द्र ग्रुपको समेत प्रस्तुति रह्नेछ ।
यस बाहेक दर्शकको मनोरञ्जनका लागि महोत्सव परिसर भित्र नेपालमै उत्पादित खाद्य वस्तुका स्टल, बाल उद्यान, थारु होमस्टे र थारु गाँउमा अवलोकन गरेर बिभिन्न थारु परिकारको समेत छुट्टै मजा लिनसक्ने छन ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिटी तथा मल्टीपर्पोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा जारी महोत्सव माघ २८ गते सम्म संचालन रह्नेछ ।
महोत्सवलाई फलो मि इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले व्यवस्थापन गरिरहेको छ ।


