युवा संघ एमालेको बलियो खम्बा होः अध्यक्ष ओली
 
				 
			बाँकेको नेपालगञ्जमा आजदेखि सुरु भएको संघको नवौ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले नेकपा (एमाले)लाई सिध्याउने जालझेल र गठबन्धनलाई परास्त पार्दै सम्पूर्ण क्षेत्रमा पार्टीले सशक्त रुपमा प्रमुख हैसियत बनाउनुमा युवा संघको ठूलो भूमिका रहेको उल्लेख गर्नुभयो ।
“राष्ट्रिय युवा संघ नेकपा (एमाले)को बलियो खम्बा हो । यसले पार्टीलाई अफ्ठेरो परेको बेला नेपाली जनतालाई अफ्ठेरो परेको बेला जोश र जाँगरका साथ आफ्नो जिम्मेवारी पुरा गर्दै आएको छ”, अध्यक्ष ओलीले भन्नुभयो,“महाधिवेशनमा पदका लागि होईन काम र जिम्मेवारी निर्वाह गर्ने सोंचका साथ दुई वर्षसम्म रात दिन सक्रियताका साथ खट्नसक्ने क्षमता हुन जरुरी छ ।”
२०४७ सालमा संविधान जारी हुने वा नहुने आशंका रहेको बेला संविधान जारी गराउन र जनताको पक्षमा गराउन युवा संघले भूमिका खेलेको स्मरण गर्दै अध्यक्ष ओलीले अहिले पनि युवा संघले राज्य सत्ताको दुरुपयोग हुन नदिन, आम निर्वाचन स्वच्छ बनाउन र जनताको पक्षमा गराउन भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो ।
विगतको गौरवमय इतिहासलाई अझ प्रभावकारी र सशक्त रुपमा अगाडि बढाउने जोश जांगर, क्षमता सिर्जनशिलता र पार्टीले सारेको नीति कार्यन्वयन गर्ने नेतृत्व महाधिवेशनले चयन गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो,“युवालाई संगठित गर्ने, सहि बाटो देखाउने र असल मान्छे बनाउने काम युवा संघको हो । कार्यशैली र व्यवहार हेर्दावित्तिकै युवा संघको कार्यकर्ता भन्ने चिनिन सक्ने हुनुपर्छ, परिचय देखाएर युवा संघको चिनारी दिन आवश्यक छैन ।”
राष्ट्रिय युवा संघ नेपालमा कुनै पनि प्रकारको गुटबन्दी हुन नहुने कुरामा जोड दिदै अध्यक्ष ओलीले नेकपा (एमाले) गुटबन्दी लगायत सबैखाले जालझेल सहेर उठेको पार्टी भएकोले अव युवा संघमा कुनै पनि वाहनामा पक्ष विपक्षको कुरा नहुने उल्लेख गर्नुभयो ।
“युवा संघ जस्तो गतिशिल, सिर्जनशिल संस्था जात, क्षेत्र र भूगोलको आधारमा पक्ष विपक्ष र गुटवन्दी गरेको सुहाउदैन”, उहाँले भन्नुभयो,“सामाजिक सद्भाव, राष्ट्रिय एकतालाई आत्मसाथ गर्दै नयाँ जोश, उत्साह अठोट र खुल्ला मनका साथ अघि बढ्न जरुरी छ ।”
नेताले आशीर्वाद दिएर नेतृत्वमा पुग्ने कामले संगठन जुझारु नहुनेतर्फ इङ्गित गर्दै अध्यक्ष ओलीले आफू केन्द्रित नभई संगठन, युवा आन्दोलन र देशलाई केन्द्रमा राखेर अघि बढ्न युवालाई आग्रह गर्नुभयो ।
राजनीति सहि बाटोमा गरेमा देश बनाउन सकिने उल्लेख गर्दै पूर्व प्रधानमन्त्री ओलीले विगतमा आफु प्रधानमन्त्री हुँदा हुलाकी सडक, तुइन विस्थापन, नदी किनारमा करिडोर निर्माणको काम भएको बताउनुभयो ।
यो सरकारले अर्थतन्त्र सम्हाल्न सक्दैनः उपाध्यक्ष पौडेल
सोही कार्यक्रममा बोल्दै पार्टी उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले एमालेविरुद्ध जालझेल र षडयन्त्र गरेर अहिले बनेको गठबन्धनले मुलुकको निकास दिन नसक्ने बताउनुभयो ।
“गठबन्धन अहिले जुन दिशातर्फ जाँदै छ जनता र राष्टका पक्षमा एकपछि अर्को अपराध गर्दैछ”, उहाँले भन्नुभयो,“यो गठबन्धन मुलुक बनाउन होईन बिगार्नको लागि हो यो सरकारले अर्थतन्त्र सम्हाल्न सक्दैन । ”
व्यवस्था परिवर्तन भन्दा पनि जनताको अवस्था परिवर्तन गर्नेतर्फ जोड दिदै उहाँले अहिले युवा आन्दोलनको भूमिका बदलिएकोले ठिक ढंगले परिस्थितिलाई पहिचान गर्दै नीति कार्ययोजना बनाएमात्रै अघि बढ्न सकिने धारणा व्यक्त गर्नुभयो ।
विकास र समृद्धिमा एमालेसँग कसैको तुलना हुँदैनः महासचिव पोखरेल
पार्टी महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिमा एमालेसँग अन्य कुनै पनि दलको तुलना हुन नसक्ने बताउनु भएको छ ।
एमाले सरकारमा रहँदा विकासका सबै सूचकमा अगाडि रहेको तथ्य प्रस्तुत गर्दै उहाँले भन्नुभयो,“एमालेका लागि भविष्य सुनौलो छ, दश दलीय अहिलेको गठबन्धन असफल हुनेछन् त्यसबाहेक बाँकी एमालेमात्रै हुनेछ, त्यसैले एमालेले अहिले सत्तालाई नभई जनता र राष्टको उन्नतीलाई लक्ष्य बनाएको छ ।”
उहाँले मुलुकमा अस्थिर राजनीतिले गर्दा युवा समूह मुलुक वाहिर जान बाध्य भएकोले युवालाई राष्ट्रिय राजनीति र धारमा कसरी लैजाने भन्ने दिशामा महाधिवेशन केन्द्रित गर्न सुझाव दिनुभयो ।
युवा संघ कठिन परिस्थितिमा मल्हम बनेको छः ढकाल
पार्टी स्थायी कमिटी सदस्य भानुभक्त ढकालले युवा संघ हरेक कठिन परिस्थितिमा मल्हम बनेर जनतालाई उर्जा दिने संगठन भएको बताउनुभयो ।
संगठनात्मक अराजकताको अन्त्य गर्दै संगठनका रचनात्मक कामलाई थप व्यवस्थित गर्ने जुझारु नेतृत्व महाधिवेशनले चयन गर्ने उहाँको विश्वास छ ।
युवा आन्दोलनको समिक्षा हुनेछः महेश बस्नेत
पार्टी पोलिटव्यूरो सदस्य एवम युवा विभाग इन्चार्ज महेश बस्नेतले समग्र युवा आन्दोलनको समिक्षा गर्दै युवालाई सामाजिक रुपान्तरण गर्न महाधिवेशनले मार्गनिर्देशन गर्ने बताउनुभयो ।
“रचनात्मक, सिर्जनशिल र नवीनतम काम गर्दै आईरहेको युवा संघ नेपाल बाघ संगठन हो”, उहाँले भन्नुभयो,“महाधिवेशनमा समसामयिक राजनीति र युवा आन्दोलनमा भ्रष्टिकरण र अपराधीकरणलाई परास्त गर्दै अवको कार्यदिशाको गम्भीर समिक्षा हुनेछ । युवा आन्दोलनमा अराजकतावादी तत्वको प्रभाव पर्न दिईनेछैन । ”
राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलको अध्यक्षतामा भएको महाधिवेशन उद्घाटन समारोहमा पार्टी पोलिटव्यूरो सदस्य, निरुदेवी पाल, केन्द्रीय सदस्य एवम् बाँके जिल्ला इन्चार्ज सूर्य ढकाल, अनेरास्ववियुका अध्यक्ष समिक बडाललगायतले बोल्नु भएको थियो ।
संघका महासचिव क्षितिज थेवेले सञ्चालन गरेको कार्यक्रममा नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेललाई रु. एक लाख राशीको केपी ओली प्रतिभा पुरस्कार र ट्रफी प्रदान गरिएको थियो ।
उद्घाटन समारोहमा कलाकारहरु अस्मिता अधिकारी, बद्री पंगेनी, विश्व नेपाली र प्रकाश तिमिल्सेनाले सांगीतिक प्रस्तुति गरेका थिए । महाधिवेशनको बन्द सत्रको तयारी भईरहेको संघका प्रचार विभाग प्रमुख एवम् प्रवक्ता माहाराज गुरुङले जानकारी दिनुभयो ।


 
  
                 
                 
                 
                