कांग्रेस नेता डा.मिनेन्द्र रिजाल
 
				 
			 पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य डा.रिजालले राज्य सत्ता सञ्चालनमा कांग्रेसको निर्णायक भूमिका रहेकाले पार्टीको शाखलाई पुनःस्थापित गर्ने अवसर रहेको बताए ।
 पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य डा.रिजालले राज्य सत्ता सञ्चालनमा कांग्रेसको निर्णायक भूमिका रहेकाले पार्टीको शाखलाई पुनःस्थापित गर्ने अवसर रहेको बताए ।
“अहिले कांग्रेस केन्द्र सरकारमा छ, प्रदेशमा हाम्रै नेतृत्व वा हामी सम्मिलित सरकार छ, बढी स्थानीय तह हामीले नै जितेका छौं, त्यसैले काम गरेर जनतामा आशा जागृत गराउने राम्रो अवसर हाम्रासामु छ,” उनले भने । डा.रिजालले एक अर्कालाई दोषारोपण गरेर पार्टी नबन्ने बताउँदै कांग्रेसलाई फेरि बलियो पार्टीका रुपमा पुनःस्थापित गर्न एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले कांग्रेसले अब आफैंले आफैंलाई ऐनामा हेरेर गम्भीर आत्मसमिक्षाका साथ अघि बढ्ने प्रण गर्नुपर्ने समय आएको उल्लेख गरे । जनतामा देखिएको ठूलो निराशालाई आशामा बदल्ने अठोट कांग्रेसले गर्नुपर्ने डा.रिजालको भनाई छ ।
लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले तल्लो तहदेखि माथिल्लो तहका सबै नेतृत्व पंक्तिदेखि आमकार्यकर्ता विधि-विधान अनुरुप चल्नुपर्नेमा जोड दिए । उनले नेता कार्यकर्ताहरु आपसमा संवाद गरेर एकताबद्ध भई पार्टी बलियो बनाउने अभियानमा लाग्नुको विकल्प नरहेको बताए । “टिम बनाउने होइन, टिम विर्सनुस्, मन पर्ने नेताको जयजयकार र मन नपर्नेको खेदो खन्ने होइन, विधि-विधान र एजेण्डालाई हेर्नुस्,” सभापति पुनले भने-“टिम विर्सनुस, पार्टी बनाउन लाग्नुस् ।”
जिल्ला सभापति नारायणप्रसाद गौडेलले बाँकेमा कांग्रेसलाई कमजोर हुन नदिने दृढता व्यक्त गरे । उनले पार्टी बनाउने चासो र चिन्ता आफूहरुमा रहेको बताउँदै सधैं अवसरको खोजीमा दौडिनेहरुले पार्टी छोड्दा विचलित हुन जरुरी नरहेको बताए । “कसैले पार्टी छोड्यो भनेर विचलित नहुनुस्, उहाँहरुको असन्तुष्टि के हो भन्ने कुरा पार्टीले बुझ्न खोजेर संवाद पनि गरेको हो, अवसरका लागि दौडिने प्रबत्तिलाई रोक्न सकिन्न तर कांग्रेस बनाउने कुरामा हामी गम्भीर छौं, नयाँ मान्छेलाई जोड्ने गरी हामी अघि बढ्नुपर्दछ”- उनले भने ।
कार्यक्रममा जिल्लाका आधा दर्जन नेता कार्यकर्ताहरुले डा.रिजाल समक्ष जिज्ञासा र सुझाब राखेका थिए । कार्यक्रममा केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, निवर्तमान सभापति किरण कोइराला लगायत नेता कार्यकर्ता उपस्थित थिए । उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरका थिए ।


 
  
                 
                 
                 
                