Business, Entrepreneurs

होटेल कल्पतरु प्रालिले आफ्नो १० औँ वार्षिकोत्सवको अवसरमा नेपालगञ्जमा भव्य सरसफाइ कार्यक्रम सम्पन्न

नेपालगञ्ज, ३० कार्तिक । होटेल कल्पतरु प्रालिले आफ्नो १० औँ वार्षिकोत्सवको अवसरमा नेपालगञ्जमा भव्य सरसफाइ कार्यक्रम आइतवार सम्पन्न गरेको छ । स्थानीय सडक, सार्वजनिक क्षेत्र र होटल वरपरको वातावरण सफा राख्ने उद्देश्यले गरिएको यो अभियानमा होटलका कर्मचारी, पत्रकार, उद्योगी–व्यवसायी, सामाजिक अगुवाहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको थिम “Keep Your City Clean and Green for the Future Generation“ राखिएको थियो, जसअनुसार दुई युवा स्वयंसेवकले सरसफाइको सन्देश टाँसिएको ब्यानर बोकेर सुरु गरिएको अभियानले शहरवासीको ध्यान आकर्षित गरेको थियो । यस्तै बार्षिक उत्सवको अवसरमा होटेलले केक काटेर उत्सव मनाएको छ । कार्यक्रममा सहभागी सबैप्रति पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले विशेष आभार व्यक्त गर्दै होटल कल्पतरुले समाजमाप्रति देखाएको उत्तरदायित्व प्रशंसनीय भएको बताउनुभयो । उहाँका अनुसार निजी क्षेत्रबाट यस्ता सामाजिक अभियानहरूले शहरको पहिचान र पर्यटन मैत्री वातावरण निर्माणमा महत्वपूर्ण योगदान पु¥याइरहेको छ ।

त्यस्तै, कार्यक्रमका नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले कल्पतरु होटलले दशकभरिको यात्रामा गरेको प्रगति र योगदानको प्रशंसा गर्दै भविष्यमा अझ प्रभावकारी सेवाका साथ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

निजी क्षेत्रका अगुवा, पर्यटन व्यवसायी, सामाजिक अभियन्ता तथा जनप्रतिनिधिहरूको सहभागिताले कार्यक्रमलाई झनै प्रभावशाली बनाएको थियो । होटलका महाप्रबन्धक लक्ष्मण पन्थीले सरसफाइ अभियान र वार्षिकोत्सव कार्यक्रमलाई भव्यरूपमा सफल पार्न सहयोग गर्ने सबैलाई होटल परिवारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

महाप्रबन्धक पन्थीले भन्नुभयो, “दश वर्षअघि तीन तारे सेवाबाट सुरु भएको कल्पतरु होटलले आज चारतारे होटलको परिचय बनाउँदै एक दशक पूरै गरेको छ । यो उपलब्धि हाम्रो सेवाप्रति ग्राहकको विश्वास र समाजको साथका कारण सम्भव भएको हो ।”

होटल कल्पतरुको सुरुवातदेखि नै टिमको नेतृत्व गर्दै आएका सञ्चालक दिपु वैश्यले आगामी योजना बारे जानकारी दिँदै निकट भविष्यमा कर्णाली प्रदेश र सुदूरपश्चिमका धनगढीमा समेत होटलको शाखा विस्तार गर्ने तयारी भइरहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार गुणस्तरीय सेवा, पर्यटन प्रवद्र्धन र स्थानीय रोजगारीलाई प्राथमिकतामा राख्दै होटल अगाडि बढ्दै जानेछ ।

दशौँ वर्ष पूरा गरी अब एघारौँ वर्षमा प्रवेश गरेको अवसरमा कल्पतरु होटल परिवारले सबै साझेदार, ग्राहक, कर्मचारी तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै निरन्तर सेवा र जिम्मेवार व्यवसायिकताका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

नेपालगञ्जको पर्यटन विकासमा योगदान दिँदै आएको कल्पतरु होटलले वार्षिकोत्सवलाई मात्र उत्सवको रूपमा सीमित नराखी सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाइ अभियानलाई मुख्य कार्य आयोजना गर्नुले समाजप्रतिको संवेदनशीलता झल्काएको सहभागीहरूले बताएका छन् । होटल कल्पतरुलाई वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तित्व र संघ–संस्थाहरूले बधाई तथा शुभकामना दिएका छन् ।