नेपालगञ्ज ५ कार्तिक ।
‘सेवा नै धर्म हो’ भन्ने मूल नाराका साथ बाँकेको नेपालगञ्जमा गौरव स्मृति तथा बियाट सेल्फ फाउन्डेसनले निःशुल्क पिउने पानी वितरण गरेको छ।
फाउन्डेसनका संरक्षक एवं युवा समाजसेवी प्रदीप शाहको नेतृत्वमा नेपालगञ्ज–६, फुलटेक्रामा स्थानीय बासिन्दा, बटुवा तथा दर्शनार्थीहरूलाई स्वच्छ पिउने पानी र मिनरल वाटरका बोतल वितरण गरिएको हो।
गर्मीका कारण तिर्खाएका सर्वसाधारणलाई राहत प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा फाउन्डेसनका प्रतिनिधि तथा स्थानीय युवाहरूको सहभागिता रहेको थियो। निःशुल्क पानी पाएपछि सर्वसाधारणले खुसी व्यक्त गर्दै संस्थाको सामाजिक सेवाको प्रशंसा गरेका थिए।
कार्यक्रममा शाहले आवश्यक परेको समयमा नागरिकलाई सहयोग गर्नु नै वास्तविक मानवता भएको बताउँदै आगामी दिनमा पनि जनहितकारी तथा परोपकारी गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
फाउन्डेसनले स्थानीय समुदायको आवश्यकतालाई प्राथमिकतामा राख्दै सामाजिक सेवा र मानवीय सहयोगका कार्यक्रमलाई थप प्रभावकारी बनाउने जनाएको छ।




