नेपालगञ्ज, ०७ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ मा वडा विस्तारित बैठक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। वडा सभापति रामगोपाल बर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीको संगठन विस्तार, स्थानीय तहमा पार्टीलाई थप सशक्त बनाउने तथा नयाँ सदस्यलाई पार्टीमा स्वागत गर्ने विषयमा चर्चा गरिएको थियो।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी नेपालगञ्ज नगर सभापति नवीन खड्का विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। त्यसैगरी पार्टीका सल्लाहकार नन्दलाल वैश्य, १४ नम्बर वडा सभापति अजय बर्मा, टेकराज केसी, समाजसेवी बलबहादुर ओलीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले पार्टीको संगठनलाई वडा तहसम्म मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले जनताको आवश्यकता र अपेक्षाअनुसार काम गर्दै सुशासन, पारदर्शिता र जनमुखी राजनीतिक संस्कारलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा टंक बहादुर धामी र हरि सुवेदीले मन्तव्य राख्दै पार्टीको आगामी राजनीतिक गतिविधि, संगठन विस्तार तथा जनताको विश्वास जित्ने विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री मुना हमालले वडा नम्बर १९ लाई सशक्त र व्यवस्थित संगठनका रूपमा विकास गर्नुपर्ने धारणा राखिन्। उनले वडा तहमा बलियो संगठन निर्माण गर्न सके जनताको अपेक्षाअनुसार नेतृत्व स्थापित गर्न सकिने उल्लेख गर्दै बालेन शाह र रवि लामिछानेजस्ता नेतृत्वको उदाहरण दिँदै परिवर्तनमुखी राजनीतिमा जोड दिएकी थिइन्।
कार्यक्रमका क्रममा विभिन्न क्षेत्रबाट आएका व्यक्तिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। आयोजकका अनुसार कार्यक्रममा करिब २५ जना पार्टीमा प्रवेश गरेका छन्। पार्टी प्रवेश गर्नेहरूमा सन्दिप बर्मा, प्रमोद बर्मा, कमल बर्मा, मनिष जयसवाल, रमेश कुमार रैदास र कल्पना बर्मा लगायत रहेका छन्।
नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै वक्ताहरूले उनीहरूको सहभागिताले वडा नम्बर १९ मा पार्टीको संगठन विस्तार र आगामी राजनीतिक गतिविधिमा थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन वडा सचिव ज्ञानेन्द्र जयसवालले गरेका थिए। वडा सभापति रामगोपाल बर्माले पार्टीको संगठन विस्तार, कार्यकर्ताबीच एकता र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी वडा नम्बर १९ ले आगामी दिनमा संगठनलाई थप व्यवस्थित बनाउँदै स्थानीय जनताका समस्या र आवश्यकतासँग जोडिएर राजनीतिक गतिविधि अघि बढाउने लक्ष्य लिएको जनाएको छ।










