स्वास्थ्यमन्त्री सारुद्वारा साइनिङ अस्पतालको अवलोकन, कुष्ठरोग सेवाको प्रभावकारिता बढाउन जोड

नेपालगञ्ज, जेठ २० । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले बाँकेको साइनेङ अस्पताल आईएनएफ नेपालको अवलोकन भ्रमण गर्दै अस्पतालबाट कुष्ठरोग प्रभावित बिरामीहरूलाई प्रदान गरिँदै आएका स्वास्थ्य सेवाको अवस्था, उपलब्ध सुविधा तथा चुनौतीबारे जानकारी लिनुभएको छ।

अवलोकनका क्रममा मन्त्री सारुले अस्पतालका विभिन्न विभागको निरीक्षण गर्नुका साथै बिरामी तथा स्वास्थ्यकर्मीहरूसँग प्रत्यक्ष संवाद गर्नुभएको थियो। उहाँले नागरिकलाई गुणस्तरीय, सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

अस्पतालले प्रदान गरिरहेको सेवाप्रति सन्तुष्टि व्यक्त गर्दै मन्त्री सारुले सेवा प्रवाहलाई अझ प्रभावकारी र पहुँचयोग्य बनाउन आवश्यक सहयोग तथा समन्वयका लागि प्रदेश सरकार सधैँ तयार रहेको उल्लेख गर्नुभयो। साथै, मानव सेवामा समर्पित स्वास्थ्यकर्मीहरूको योगदानको प्रशंसा गर्दै उहाँले आफ्नो सीप, दक्षता र सेवाभावमार्फत बिरामीको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने भएकाले समर्पित भएर काम गर्न आग्रह गर्नुभयो।

अस्पताल प्रमुख मङ्गलबहादुर चौधरी तथा परियोजना संयोजक अभिषेकले मन्त्रीलाई अस्पतालले हाल प्रदान गरिरहेका सेवा, संस्थागत प्रगति तथा सञ्चालनका क्रममा सामना गरिरहेका चुनौतीबारे जानकारी गराउनुभएको थियो।

भ्रमणपछि मन्त्री सारु तथा प्रदेशसभा सदस्य बसन्ती अधिकारीले कुष्ठरोग प्रभावित तथा स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका समुदायलाई उपचार सेवाको दायराभित्र ल्याउन सम्बन्धित निकायबीच थप समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँहरूले मानव सेवाको क्षेत्रमा निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

आईएनएफ नेपालका कार्यकारी निर्देशकले नेपाल सरकारको ‘शून्य कुष्ठरोग २०३०’ रणनीतिलाई आत्मसात् गर्दै संस्थाले हरियो खर्क अस्पताल पोखरा, साइनेङ अस्पताल सुर्खेत तथा विभिन्न जिल्लामा सञ्चालित सामुदायिक परियोजनामार्फत कुष्ठरोगको पहिचान, निदान, उपचार तथा पुनःस्थापनासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।

उहाँका अनुसार साइनेङ अस्पताल बाँकेलाई स्तरोन्नति गरी कुष्ठरोग विशेषज्ञ सेवा केन्द्र तथा एनटीडी ९ल्भनभिअतभम त्चयउष्अब िम्ष्कभबकभक० हबका रूपमा विकास गर्ने लक्ष्यसहित आवश्यक पूर्वाधार निर्माण तथा विकासका कार्य अगाडि बढाइएको छ। उक्त योजनाको सफल कार्यान्वयनका लागि प्रदेश सरकार, स्थानीय तह, जनप्रतिनिधि, सरोकारवाला निकाय तथा विकास साझेदारहरूको सहयोग अपरिहार्य रहेको उहाँले बताउनुभयो।

कार्यक्रमको अन्त्यमा कार्यकारी निर्देशकले अस्पतालको अवलोकन गरी रचनात्मक सुझाव तथा हौसला प्रदान गर्नुभएकोमा स्वास्थ्य मन्त्री, प्रदेशसभा सदस्य तथा उपस्थित सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो।

अवलोकन भ्रमण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख तथा अन्य सरोकारवाला प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

नयाँ लेखहरु