नेपालगन्ज २४ भदौ । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपालगन्जस्थित ब्रिटिस इङ्लिस बोर्डिङ विद्यालय परिवारले रु. ५० हजार आर्थिक सहयोग प्रदान गरेको छ।
विद्यालय परिवारले उक्त रकम प्याब्सन बाँकेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी चेक हस्तान्तरण गरेको जनाएको छ। बाढीका कारण प्रभावित परिवारहरूको दुःखमा साथ दिन तथा मानवीय सहयोग पुर्याउने उद्देश्यले राहत रकम उपलब्ध गराइएको विद्यालयले जनाएको हो।
विद्यालयका अनुसार विपद्को यस कठिन परिस्थितिमा पीडित नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको हो। साथै विद्यालय परिवारले बाढीबाट प्रभावित नागरिकहरूको शीघ्र उद्धार, प्रभावकारी राहत वितरण तथा पुनर्स्थापनाको कार्य सफलतापूर्वक अघि बढ्ने विश्वास व्यक्त गरेको छ।
हाल देशका विभिन्न संघसंस्था, शैक्षिक प्रतिष्ठान तथा सामाजिक निकायहरूले पनि रसुवा बाढीपीडितहरूको सहयोगका लागि राहत संकलन तथा आर्थिक सहयोग प्रदान गरिरहेका छन्।





