नेपालगन्ज संवाददाता, १६ भदौं
नेपाली कांग्रेस बाँकेले नेपाल प्रेस युनियन, डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) तथा लोकतान्त्रिक उद्योगी व्यवसायी संगठनबाट विभिन्न जिम्मेवारीमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई स्वागत तथा सम्मान गरेको छ।
नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टी सभापति नारायण प्रसाद गौडेलले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
गत भदौ ६ गते सम्पन्न नेपाल प्रेस युनियन बाँकेको अधिवेशनबाट निर्वाचित अध्यक्ष कमल खत्री नेतृत्वको जिल्ला कार्यसमिति, प्रदेश तथा संघीय पार्षदहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो। साथै, डिएलए र लोकतान्त्रिक उद्योगी व्यवसायी संगठनमार्फत विभिन्न जिम्मेवारीमा निर्वाचित व्यक्तिहरूलाई पनि सम्मान गरिएको जनाइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति गौडेलले नेपाली कांग्रेस निकट भातृ तथा शुभेच्छुक संस्थाहरूको सक्रियता र प्रभावकारी भूमिकाले पार्टीलाई जनस्तरसम्म थप मजबुत बनाउन सहयोग पुग्ने बताउनुभयो। उहाँले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको कार्यशैली र योगदानले पार्टीको प्रतिष्ठा तथा जनविश्वास अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।
“निर्वाचित हुनुभएका सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। यहाँहरूको गतिविधि, नेतृत्व र कर्मले पार्टीको गौरव तथा सम्मान वृद्धि गर्नेछ भन्ने विश्वास लिएका छौं,” सभापति गौडेलले भन्नुभयो।
कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सचिव सुधान्सु कोइरालाले नेपाल प्रेस युनियन, डिएलए तथा लोकतान्त्रिक उद्योगी व्यवसायी संगठनबाट निर्वाचित प्रतिनिधिहरूले कांग्रेसको विचार, नीति तथा कार्यक्रमलाई समाजका विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाली कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक संस्थाका प्रतिनिधि तथा सम्मानित पदाधिकारीहरूको उपस्थिति रहेको थियो।





