बाँके ०४ असार । नेपालगञ्ज उपमहानगरपालिका १९ नम्बर वडा कार्यालय आ.व.२०८३/०८४ को योजना छनौट तथा वडा भेला कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

आर्थिक वर्ष ०८३/०८४ को लागि वार्षिक योजना तर्जुमा प्रस्ताव संकलनका लागि गरिएको भेलामा आर्थिक वर्षको वार्षिक प्रगति समिक्षा पनि गरिएको थियो । वडा कार्यालय नजिक रहेको बाबाकुट्टीमा भएकाे भेलामा वडा सचिव तेजेन्द्र रोकायाले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ का लागि १ करोड १ लाख ४५ हजार १ सयको बजेट सिलिङ नेपालगञ्ज उपमहानगरपालिकाबाट प्राप्त भएको जानकारी दिनुभयो ।

कार्यक्रममा वडा सचिव रोकायाले आर्थिक वर्ष ०८२/०८३ मा सम्पन्न भएका समग्र योजना र आगामी कार्यक्रम तथा योजनाबारे पनि प्रकाश पारेका थिए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष परसराम कुर्मीले स्थानीयको आवश्यकतालाई मध्यनजर गरेर आगामी कार्यक्रम र योजना तय गरिने स्पष्ट पारे । उक्त कार्यक्रममा वडा सदस्य राम सुहावन कुर्मी , अमृता कुमारी सिंह , सुनिता कोरी ,जनप्रतिनिधि, वडाका कर्मचारी, राजनीतिककर्मी, नागरिक समाजका अग्रज, जेष्ठ नागरिक, बालबालिका, समाजसेवी लगायतको सहभागिता रहेको वडा भेलामा सडक निर्माण, नाला निर्माण, सरसफाई, बत्ती व्यवस्थापन, स्वास्थ्य, लागूऔषध आदि विषय प्राथमिकतामा राख्न माग गरिएको छ भने कार्यक्रम वरिष्ठ प्रशासन सहायक मनोज कुमार रिजालले सञ्चालन गर्नुभएको थियो ।







