नेपालगञ्ज १९ असार । सञ्चारकर्मीहरूसँग कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जको आयोजनामा तथा नेपाल पत्रकार महासंघ बाँकेको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा कर अधिकृत उदयराम केसीले आर्थिक विधेयक २०८३, नयाँ कर व्यवस्था, करदातालाई प्रदान गरिएका छुट तथा सहुलियत, कर सम्बन्धी कानुनी व्यवस्था र सञ्चारकर्मीको भूमिकाबारे विस्तृत प्रस्तुतिकरण गरेका थिए । प्रस्तुतिपछि सहभागी पत्रकारहरूले उठाएका जिज्ञासाको समेत केसीले जवाफ दिएका थिए । केसीले आर्थिक विधेयक २०८३ ले अहिलेसम्मकै बढी छुट र सहुलियत प्रदान गरेको जानकारी गराउँदै करदातालाई राजश्व कार्यालयमा सम्पर्क गरी मौकाको फाइदा लिन आग्रह गरे । त्यसका लागि आवश्यक सूचना नागरिकसमक्ष प्रवाह गरिदिन उनले संचारकर्मीलाई आग्रह समेत गरे ।
उक्त कार्यक्रममा कर प्रणाली, करदाताको दायित्व, राजस्व संकलनको अवस्था तथा करसम्बन्धी समसामयिक विषयमा छलफल गरिएको थियो। सहभागी सञ्चारकर्मीहरूले कर प्रशासनसँग सम्बन्धित विभिन्न जिज्ञासा तथा सुझाव प्रस्तुत गरेका थिए।

आन्तरिक राजस्व कार्यालयका प्रतिनिधिहरूले करसम्बन्धी जानकारी प्रदान गर्दै कर सचेतना अभिवृद्धिमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका थिए। कार्यक्रममा कर प्रणालीलाई थप प्रभावकारी र जनमैत्री बनाउने विषयमा समेत अन्तरक्रिया भएको थियो।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष गिरीले पत्रकारहरूलाई कर सम्बन्धी अद्यावधिक जानकारी उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको अन्तरक्रिया निकै उपयोगी भएको बताए । उनले कर नीति तथा आर्थिक विषयलाई आम नागरिकसम्म सरल, तथ्यपरक र जिम्मेवार ढंगले पुर्याउन सञ्चारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै यस्ता अभिमुखीकरण तथा अन्तरक्रियालाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए । साथै, गिरीले राज्यका निकाय र सञ्चार क्षेत्रबीच नियमित समन्वय र संवादले सुशासन, कर सचेतना तथा उत्तरदायी पत्रकारितालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका पदाधिकारी, सञ्चारकर्मी तथा आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो।





