चाडपर्वलाई शान्तिपूर्ण बनाउन सुरक्षा सतर्कता बढाउने निर्णय

नेपालगञ्ज, २७ बाँके। बडा दशैँ, तिहार तथा छठ पर्वलाई शान्तिपूर्ण, मर्यादित र सद्भावपूर्ण रूपमा मनाउन सुरक्षा सतर्कता बढाउने, सीमा क्षेत्रमा निगरानी प्रभावकारी बनाउने तथा बजार अनुगमनलाई तीव्रता दिने निर्णय गरिएको छ।
चाडपर्वका अवसरमा धार्मिक सहिष्णुता, आपसी एकता र भाइचारा कायम राख्दै सम्भावित आपराधिक तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न सबै पक्षबीच आवश्यक समन्वय र सूचना आदानप्रदान प्रभावकारी बनाउने निर्णय गरिएको हो।
निर्णयअनुसार सार्वजनिक स्थलमा मूर्ति स्थापना, पूजा–अनुष्ठान, मूर्ति विसर्जन, र्‍यालीलगायतका गतिविधि सञ्चालन गर्दा यसअघि भएका निर्णयहरूको पूर्ण पालना गर्नुपर्नेछ। यस्ता गतिविधि सञ्चालन गर्नुअघि स्थानीय सुरक्षा निकायसँग समन्वय गरी निर्धारित योजनाअनुसार मात्रै कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, खुला सिमानाका कारण चाडपर्वको समयमा बढ्ने आवागमनलाई ध्यानमा राख्दै भारतीय पक्षसँग समेत समन्वय गरी सीमा क्षेत्रको निगरानी बढाइने भएको छ। बजारमा हुन सक्ने कृत्रिम अभाव, कालोबजारी, मिसावट, म्याद नाघेका वस्तुको बिक्री तथा नापतौलसम्बन्धी अनियमितता नियन्त्रण गर्न नियमित संयुक्त अनुगमन गर्ने निर्णय गरिएको छ।
खाद्यान्न, तरकारी, खाना पकाउने एलपी ग्यास तथा इन्धनजस्ता दैनिक उपभोग्य र अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायबीच समन्वय गरी आपूर्ति व्यवस्थालाई व्यवस्थित बनाइनेछ।
चाडपर्वका समयमा हुन सक्ने विपद् जोखिम न्यूनीकरण तथा आकस्मिक घटनाको प्रतिकार्यका लागि स्थानीय तह, अस्पताल, स्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाइटीलगायतका निकायले आ–आफ्नो कार्यक्षेत्रमा दमकल तथा एम्बुलेन्स २४ सै घण्टा तयारी अवस्थामा राख्नुपर्ने निर्णय पनि गरिएको छ। यसबाट आकस्मिक स्वास्थ्य सेवा तथा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
यसैबीच, रसुवा भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रियाअनुसार बेपत्ता व्यक्तिहरूको प्रमाणीकरणका लागि सम्बन्धित सबै सरोकारवाला निकायले आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णयसमेत गरिएको छ।
चाडपर्वलाई सुरक्षित, व्यवस्थित र सौहार्दपूर्ण बनाउन सुरक्षा निकाय, स्थानीय तह, प्रशासन, बजार अनुगमन गर्ने निकाय तथा आम नागरिकबीच सहकार्य आवश्यक रहेको निर्णयमा जोड दिइएको छ।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

spot_img
spot_img