लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य

दाङ २२ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा युवालाई प्राथमिकतामा राखिएको बताउनुभएको छ । उहाँले नीति तथा कार्यक्रमकै आधारमा आगामी बजेट तथा कार्यक्रम तर्जुमा गरिने उल्लेख गर्दै युवामैत्री योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताउनुभएको हाे ।

लुम्बिनी प्रदेश स्तरीय युवा सम्मेलन २०८३ को भालुबाङ्गमा शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले युवालाई उद्यमशीलता र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । प्रदेश सरकारले डिजिटल क्षेत्रलाई प्राथमिकतामा राख्दै युवा लक्षित कार्यक्रम अगाडि सार्ने तयारी गरेको उल्लेख गर्दै उहाँले युवालाई आधुनिक प्रविधिसँग जोडेर उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा आत्मनिर्भरता प्रवर्द्धनमा विशेष ध्यान दिइने बताउनुभयो ।

उहाँले लोकतान्त्रिक व्यवस्थाको रक्षा, राष्ट्रियताको संरक्षण तथा समाज रूपान्तरणमा युवाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । समाज परिवर्तन र विकासको मुख्य शक्ति युवा नै भएकाले उनीहरूलाई सकारात्मक, सिर्जनात्मक र उत्पादनमूलक कार्यमा सक्रिय बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री आचार्यले अधिकारको माग मात्र पर्याप्त नहुने भन्दै कर्तव्यप्रति पनि सचेत हुन युवालाई आग्रह गर्नुभयो । समाज रूपान्तरण, सुशासन प्रवर्द्धन तथा समृद्ध समाज निर्माणका लागि युवाले आफ्नो भूमिका अझ प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले युवा पुस्ताको ऊर्जा, सीप र क्षमतालाई विकाससँग जोड्न सके प्रदेश तथा देशको समग्र विकासले थप गति लिने विश्वास व्यक्त गर्नुभयो । युवालाई उत्पादन, नवप्रवर्तन र उद्यमशीलतासँग जोड्ने कार्यक्रम आगामी दिनमा अझ सशक्त रूपमा अघि बढाइने समेत उहाँले बताउनुभयो ।

गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशकी अध्यक्ष जितकुमारी बेल्वासे (सुशीला) को अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले युवा क्षेत्रको समग्र विकासका लागि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने स्पष्ट पार्नुभयो । उहाँले गुणस्तरीय शिक्षा, सीप विकास र नेतृत्व क्षमताको अभिवृद्धिमार्फत युवालाई सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने दिशामा प्रदेश सरकार केन्द्रित रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पंगेनी, यूनिसेफका प्रतिनिधि रिद्धि शर्मा लगायतले युवाको सहभागिता, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका विषयमा आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

नयाँ लेखहरु