spot_img
spot_img

गुणस्तरमा सम्झौता नगर्न कार्यालय प्रमुखलाई मन्त्री खत्रीको निर्देशन

देउखुरी, साउन १५ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रत्न खत्रीले मन्त्रालयअन्तर्गत सञ्चालन हुने विकास निर्माणका काम गुणस्तरीय, पारदर्शी र समयमै सम्पन्न गर्न मातहतका कार्यालय प्रमुख तथा प्राविधिक कर्मचारीलाई निर्देशन दिनुभएको छ।
राप्ती उपत्यका, देउखुरीमा शुक्रबार आयोजित भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रदेश मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खत्रीले योजना कार्यान्वयनका क्रममा गुणस्तरमा कुनै पनि सम्झौता नगर्न आग्रह गर्नुभयो।
उहाँले निर्माण कार्य गर्दा स्वीकृत लागत अनुमान (स्टिमेट) र प्राविधिक मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिँदै जनताको आवश्यकता र विकासको वास्तविक धरातललाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो। “काम गर्दा स्टिमेटमैत्री बन्नुहोस्, जनताको वास्तविक धरातल सधैं स्मरण गर्नुहोस्,” भन्दै उहाँले योजना कार्यान्वयनको प्रारम्भिक चरणदेखि नै विशेष सतर्कता अपनाउन प्राविधिक कर्मचारीलाई निर्देशन दिनुभयो।
मन्त्री खत्रीले प्रदेश सरकार गठनपछि सडक, पुल तथा अन्य पूर्वाधार निर्माणका क्षेत्रमा उल्लेखनीय प्रगति भएको भए पनि ती उपलब्धिहरू प्रभावकारी रूपमा जनतासम्म पुग्न नसकेको उल्लेख गर्दै मन्त्रालयअन्तर्गतका कार्यालयलाई विकास निर्माणका उपलब्धिको नियमित प्रचारप्रसार गर्न पनि निर्देशन दिनुभयो।
कार्यक्रममा मन्त्रालयका सचिव राम पराजुलीले चालु आर्थिक वर्षमा विगतको तुलनामा बहुवर्षीय आयोजनाका लागि उल्लेख्य रूपमा बढी बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। उहाँले आयोजना कार्यान्वयनमा गुणस्तरलाई उच्च प्राथमिकता दिन निर्देशन दिँदै कन्टेन्जेन्सी मापदण्ड, सडक तथा पुल मापदण्ड तथा सार्वजनिक खरिदसम्बन्धी आवश्यक कानुन निर्माणका लागि आर्थिक मामिला मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग समन्वय भइरहेको जानकारी दिनुभयो।
यातायात पूर्वाधार निर्देशनालयका निर्देशक अनिल मरासिनीले रणनीतिक तथा ठूला आयोजनाको नियमित अनुगमनलाई प्रभावकारी बनाउन कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याइएको बताउनुभयो।
बैठकमा मन्त्रालय तथा मातहतका कार्यालयहरूले आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न भएका कार्यक्रम, बजेट कार्यान्वयनको अवस्था तथा आगामी वर्षका प्राथमिकताबारे समीक्षा गरेका थिए।
कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्य, प्रमुख सचिव कृष्णप्रसाद काप्री, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्याल, आर्थिक मामिला मन्त्रालयका सचिव बन्धुप्रसाद बास्तोला लगायतको सहभागिता रहेको थियो।
यस अवसरमा मन्त्रालयले सम्झौतामा तोकिएको समयभन्दा अगाडि सडक तथा पुल निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायी तथा कम्पनीहरूलाई सम्मान गरेको छ। आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रमका अवसरमा विभिन्न जिल्लाका आयोजना समयअगावै सम्पन्न गर्ने निर्माण कम्पनी तथा निर्माण व्यवसायीलाई सम्मान गरिएको मन्त्रालयले जनाएको छ।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

नयाँ लेखहरु