spot_img
spot_img

१७औँ स्थापना दिवसमा गुरुकुल साकोसको स्वास्थ्य उपहार : निःशुल्क आँखा शिविरबाट २८७ जना लाभान्वित

नेपालगञ्ज, साउन १४ । गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७औँ स्थापना दिवसको अवसरमा निःशुल्क आँखा जाँच तथा स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, घरबारीटोलमा आयोजित शिविरबाट २८७ जना प्रत्यक्ष लाभान्वित भएका छन्।

फत्तेबाल आँखा अस्पताल, फुल्टेक्रा, नेपालगञ्जको प्राविधिक सहयोग तथा नेपालगञ्ज उपमहानगरपालिका–२ वडा कार्यालयको समन्वयमा सञ्चालन गरिएको शिविरमा १२३ जना सदस्य तथा १६४ जना विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा २० जनामा मोतिबिन्दुको समस्या पहिचान भई थप उपचार तथा शल्यक्रियाका लागि छनोट गरिएको आयोजकले जनाएको छ। साथै आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो।

शिविर उद्घाटन समारोह गुरुकुल साकोसका अध्यक्ष प्रदिप चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम प्रसाद सुवेदी प्रमुख अतिथि रहेका थिए। बचत तथा ऋण सहकारी संघ बाँकेका अध्यक्ष तथा संस्थाका वरिष्ठ सल्लाहकार प्रेमबहादुर शाह, बचत तथा ऋण सहकारी संघ बाँकेका उपाध्यक्ष हिरा खराल तथा नेपालगञ्ज उपमहानगरपालिका–२ का निवर्तमान वडाअध्यक्ष सुनिल सिंह हमाल अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा संस्थाका सञ्चालक, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी, विभिन्न उपसमितिका सदस्य, कर्मचारी तथा फत्तेबाल आँखा अस्पतालका नेत्र अधिकृत डा. उमर सद्दिकसहितको प्राविधिक टोलीको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन टिकाराम चौधरीले गरेका थिए भने स्वागत मन्तव्य वरिष्ठ सल्लाहकार प्रेमबहादुर शाहले व्यक्त गरेका थिए।

शिविरमा विशेषगरी विद्यालयका विद्यार्थीहरूको दृष्टि परीक्षण गरी आँखासम्बन्धी समस्या समयमै पहिचान गर्न आवश्यक परामर्श प्रदान गरिएको थियो। साथै आँखाको सरसफाइ, दृष्टि संरक्षण तथा नियमित स्वास्थ्य परीक्षणको महत्त्वबारे जानकारी दिइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुवेदीले सहकारी संस्थाहरू आर्थिक कारोबारमा मात्र सीमित नरही स्वास्थ्य, शिक्षा र सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय हुनु सकारात्मक अभ्यास भएको बताए। यस्ता कार्यक्रमले समुदायमा प्रत्यक्ष लाभ पुर्‍याउनुका साथै स्वास्थ्य सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो।

संस्थाका अध्यक्ष चौधरीले गुरुकुल साकोसले बचत तथा ऋण सेवासँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विभिन्न जनहितकारी कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे। उनले आगामी दिनमा पनि समुदायको आवश्यकता अनुरूप स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

स्थापना दिवसको अवसरमा आयोजित शिविरले स्थानीय नागरिक तथा विद्यार्थीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराएको भन्दै सहभागीहरूले आयोजक संस्था, प्राविधिक सहयोगी संस्था तथा समन्वयकारी निकायप्रति आभार व्यक्त गरेका थिए।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

नयाँ लेखहरु