साउन १५ । सल्यानी समाज, बाँके (केन्द्रीय कार्यालयः नेपालगञ्ज) को आयोजनामा खिरखाने तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ। समाजका अध्यक्ष दशरथ चन्दको अध्यक्षता तथा प्रमुख अतिथि प्रकाश शाहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथिका रूपमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, समाजका पदाधिकारी, सदस्य, समाजसेवी तथा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको प्रारम्भमा समाजका महासचिव सालिकराम परियारले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित अतिथि, पत्रकार तथा सहभागीहरूलाई स्वागत गर्नुभएको थियो। उहाँले सल्यानी समाजले समुदायको एकता, सामाजिक सद्भाव तथा सांस्कृतिक संरक्षणका क्षेत्रमा निरन्तर कार्य गर्दै आएको उल्लेख गर्नुभयो।
आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य सल्यानी समुदायबीच आपसी एकता, सद्भाव र सहकार्यलाई थप मजबुत बनाउनुका साथै पत्रकारहरूसँग समाजका गतिविधि तथा भावी योजनाबारे जानकारी आदानप्रदान गर्नु रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चन्दले समाजलाई अझ संगठित, सक्रिय र प्रभावकारी बनाउँदै सामाजिक, सांस्कृतिक तथा धार्मिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यक्रमहरूले समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै सामाजिक एकताको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।
प्रमुख अतिथि शाहले सामाजिक संस्थाहरूले समुदायको एकता र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै सल्यानी समाजले सञ्चालन गरिरहेका गतिविधिहरू प्रशंसनीय रहेको बताउनुभयो। उहाँले समाजलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउन सबैको सहकार्य र सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो।
विशेष अतिथि तथा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकारिता र सामाजिक संस्थाबीचको सहकार्यले समाजलाई सकारात्मक दिशामा अघि बढाउन मद्दत पुग्ने बताउनुभयो। उहाँले समाजका गतिविधिलाई सञ्चारमाध्यममार्फत जनसमक्ष पुर्याउन पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्नुभयो।
पत्रकार भेटघाटका क्रममा सहभागी पत्रकारहरूले समाजका गतिविधि, चुनौती तथा आगामी योजनाबारे जिज्ञासा राखेका थिए। कार्यक्रममा खिर प्रसाद वितरणसँगै सौहार्दपूर्ण वातावरणमा अन्तरक्रिया, छलफल तथा विचार आदानप्रदान गरिएको थियो।
सल्यानी समाज, बाँकेले आगामी दिनमा पनि सामाजिक एकता, सांस्कृतिक संरक्षण तथा समुदायको हितमा केन्द्रित विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।





