नेपालगञ्ज, साउन १५ । केन्द्रीय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समिति, नेपालगञ्जको आज बसेको बैठकले चेहल्लुम पर्वको व्यवस्थापनका लागि ३ वर्षे कार्यकाल रहने गरी १९ सदस्यीय उपसमिति सर्वसम्मत रूपमा गठन गरेको छ।
केन्द्रीय अध्यक्ष फिरोज वरसीको अध्यक्षतामा सम्पन्न बैठकले उपसमितिको अध्यक्षमा मो. इशहक सिद्दिकी, उपाध्यक्षमा अख्तर राई, सचिवमा इसराइल सिद्दिकी, सह-कोषाध्यक्षमा गुलाम जिलानी तथा सचिवमा सबिर अली शेखलाई चयन गरेको छ। उपसमितिमा अन्य सदस्यहरू समेत सर्वसम्मत रूपमा चयन गरिएको जनाइएको छ।
त्यसैगरी, बैठकले ११ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ। सल्लाहकार समितिको अध्यक्षमा मो. हानिफ शेख, उपाध्यक्षमा कम्लुद्दिन सिद्दिकी तथा सदस्यहरूमा अयुब सिद्दिकी, अफ्रोजा शेख, हाजी आसिफ अन्सारी लगायतलाई सर्वसम्मत रूपमा चयन गरिएको छ।
बैठकले नवगठित उपसमिति तथा सल्लाहकार समितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै चेहल्लुम पर्वलाई व्यवस्थित, सभ्य र भव्य रूपमा सम्पन्न गर्न सबैलाई आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गरेको छ।





