बाँके ०७ भदौ ।
श्रम संस्कृति पार्टीका संस्थापक, केन्द्रीय अध्यक्ष तथा माननीय हर्कराज राई (हर्क साम्पाङ) २०८३ साल भाद्र १३ गते बाँके जिल्लाको नेपालगञ्जमा हुने औपचारिक भ्रमणको तयारीका लागि आइतबार आयोजित पत्रकार सम्मेलनमा इतिहासलाई हेर्दा कुनै पनि राष्ट्रको विकास स्थानीय श्रम, उत्पादन र आधुनिक प्रविधिको समुचित संयोजनबाट सम्भव भएको पाइन्छ। वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा रहँदा प्राप्त अनुभव र स्पष्ट दृष्टिकोणका आधारमा स्वदेश फर्किएपछि माननीय हर्क साम्पाङ राई ज्युले धरानबाट श्रम अभियानको सुरुवात गर्नुभएको थियो। सरकारी निकायमा हुने भ्रष्टाचारको अन्त्य, जनताले सहज, छिटोछरितो र प्रभावकारी सेवा पाउनुपर्ने तथा विकासमा जनसहभागिता हुनुपर्ने अभियानलाई उहाँले निरन्तर अगाडि बढाउनुभयो।

२०७४ सालको स्थानीय तह निर्वाचनमा सहभागी भई पराजित भए तापनि उहाँले जनताबाट प्राप्त मतलाई आशीर्वादका रूपमा ग्रहण गर्दै धरानको विकासका लागि निरन्तर श्रम अभियान सञ्चालन गर्नुभयो। यही अभियानले देशभर व्यापक चर्चा पायो। त्यसपश्चात स्थानीय निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भई उहाँले जनताको विश्वासलाई सम्मान गर्दै विभिन्न जनमुखी योजना सफलतापूर्वक कार्यान्वयन गर्नुभयो।
धरानको दीर्घकालीन खानेपानी समस्याको समाधानका लागि करिब ४२ किलोमिटर टाढाको स्रोतबाट श्रमदानमार्फत तीन महिनाभित्र पानी ल्याई धरानवासीको वर्षौँदेखिको प्यास मेटाउने ऐतिहासिक कार्य सम्पन्न गर्नुभयो। साथै, विदेशी उत्पादनप्रतिको अत्यधिक निर्भरता घटाई स्वदेशी उत्पादन वृद्धि गर्नुपर्ने विचारलाई उहाँले निरन्तर उठाउँदै आउनुभएको छ।

धरानको पर्यटन, संस्कृति तथा सामाजिक विकासका लागि श्रमदानबाट श्रम संस्कृति पार्क, ज्येष्ठ नागरिक पार्क, बहुभाषिक पार्क तथा जीएनजी आन्दोलनका शहीदहरूको सम्मानमा जीएनजी पार्क निर्माण गरिएको छ।
विकास निर्माणका क्षेत्रमा उहाँकै नेतृत्वमा श्रमदानमार्फत दार्चुलाको झोलुङ्गे पुल, ओखलढुङ्गाको आर.सि.सि. ढलान पुल, धरानका विभिन्न पुल तथा देशका विभिन्न स्थानमा आवश्यक पूर्वाधार निर्माण भएका छन्। हाल हेटौँडामा पनि श्रमदानबाट पुल निर्माण भइरहेको छ। साथै विपन्न परिवारहरूका लागि नौ वटा घर निर्माण गरी हस्तान्तरण गरिसकिएको छ।
कोशी प्रदेशको सुनसरी जिल्लाको धरानबाट सुरु भएको श्रम संस्कृति पार्टी आज नेपालका अधिकांश जिल्लामा संगठन विस्तार गर्दै अगाडि बढिरहेको छ। बाँके जिल्लामा रहेका आठवटै पालिकाका ८१ वटै वडामा संगठन विस्तार गरी आगामी स्थानीय तह निर्वाचनमा सहभागिता जनाउने लक्ष्यका साथ पार्टी अगाडि बढिरहेको छ। अधिकांश पालिकाहरूमा संगठन गठन भइसकेको छ। साथै, बाँके जिल्लामा प्रत्येक शनिबार श्रम अभियान सञ्चालन गरी समाजमा श्रमको सम्मान, विकासप्रतिको जनचेतना तथा राष्ट्र निर्माणको भावना प्रवर्द्धन गर्ने कार्य निरन्तर जारी रहेको छ।
आजको कार्यक्रममा अध्यक्ष श्रीमान थापा मगर, विशिष्ट अतिथि ओमकार थान, दिनेश गुरुङ, ज्योति परियार, कार्यक्रम संयोजक राजन राना मगर तथा कास्मिरा खातुन लगायतको उपस्थिति रहेको छ।





