नेपालगञ्ज, भाद्र ६ – मक्का मस्जिद व्यवस्थापन समितिको आयोजनामा पैगम्बर हजरत मोहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को जन्मदिनको शुभ अवसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको थियो।
शिविरमा विशेषज्ञ चिकित्सकहरूद्वारा निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक औषधि वितरण गरिएको थियो। साथै स्वास्थ्यसम्बन्धी विभिन्न जानकारी तथा सचेतनामूलक परामर्शसमेत प्रदान गरिएको आयोजकले जनाएको छ।
स्वास्थ्य शिविरमा फिजिसियन डा. अलतबान राही, डा. मोहम्मद आजम, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. सैयद सद्दाम तथा मेडिकल अधिकृत डा. अजहर हुसैन फारुकी ले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नुभएको थियो।
कार्यक्रम मक्का मस्जिद व्यवस्थापन समितिका अध्यक्ष खलिल मियाँको अध्यक्षतामा सम्पन्न भएको थियो भने समाजसेवी मेराज अहमद हिमालयको विशेष उपस्थिति रहेको थियो। उहाँहरूले शिविरको अवलोकन गर्दै सेवाग्राही तथा स्वास्थ्यकर्मीहरूसँग स्वास्थ्य सेवासम्बन्धी जानकारी लिनुभएको थियो।
शिविरमा विभिन्न स्वास्थ्य समस्या लिएर आएका सेवाग्राहीहरूले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य जाँच, परामर्श तथा आवश्यक औषधि प्राप्त गरेका थिए। समुदायका नागरिकलाई सहज र निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको समितिले जनाएको छ।
कार्यक्रममा समितिका उपाध्यक्ष मोहम्मद आसिफ अन्सारी, सचिव मोहम्मद साहिल अन्सारी, कोषाध्यक्ष शमसाद हुसैन शेख, सदस्यहरू आशिफ कुरैशी, मोहम्मद सलमान सलमानी, साबिर अली शेख, शमसाद अली, सद्दाम कुरेशी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम संयोजक आशिफ कुरैशीका अनुसार उक्त स्वास्थ्य शिविरबाट ४ सयभन्दा बढी सेवाग्राही लाभान्वित भएका छन्।
मक्का मस्जिद व्यवस्थापन समितिले शिविर सफल बनाउन सहयोग गर्ने सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, सहयोगी संस्था तथा उपस्थित सेवाग्राहीप्रति हार्दिक आभार व्यक्त गरेको छ। आगामी दिनमा पनि समुदायको हित र सेवाका लागि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष खलिल मियाँले बताउनुभयो।





