spot_img
spot_img

ईद मिलादुन्नबीको जुलुस शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रशासनसँग सुरक्षा व्यवस्थापनको आग्रह

बाँके ०२ भदौ ।
दारुल उलुम फैजुन्नबी तथा जामा मस्जिद–ईदगाह सञ्चालक समितिले आगामी भदौ १० गते मनाइने हजरत मोहम्मद मुस्तफा (सल्लल्लाहु अलैहि वसल्लम) को जन्मोत्सव ईद–ए–मिलादुन्नबी (मोहम्मद डे) को अवसरमा निकालिने धार्मिक जुलुसका लागि आवश्यक सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय बाँकेसँग अनुरोध गरेको छ।
समितिका संयोजक मो. अय्युब सिद्दीकीद्वारा प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी पठाइएको निवेदनमा जुलुस पूर्ण रूपमा शान्तिपूर्ण, मर्यादित तथा धार्मिक सद्भाव कायम राख्दै सञ्चालन गरिने उल्लेख गरिएको छ।
निवेदनअनुसार जुलुस नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ स्थित फैजुन्नबी जामा मस्जिदबाट बिहान ७ बजे प्रस्थान हुनेछ। जुलुस राप्ती मार्ग, गौसिया, फुल्टेक्रा, खलील जलीलको घर क्षेत्र, वडा प्रहरी कार्यालय, एम.पी. स्कुल, रानी तलाउ, एक्लैनी, वडा नं. ८ को जोलहनपूर्वा, त्रिभुवन चोक, बीपी चोक, मयङ्क पेट्रोल पम्प मार्ग, वीरेन्द्र चोक, धम्बोजी, घरवारी टोल, सेतु बिक चोक तथा त्रिवेणी मोड हुँदै नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ स्थित गौसिया जामा मस्जिदमा पुगेर दिउँसो १ बजे समापन हुने कार्यक्रम रहेको छ।
समितिले जुलुसमा ठूलो संख्यामा श्रद्धालु भक्तजनहरूको सहभागिता रहने भएकाले ट्राफिक व्यवस्थापन तथा सुरक्षा प्रबन्धका लागि विशेष समन्वय आवश्यक रहेको जनाएको छ। विशेष गरी त्रिभुवन चोकबाट उत्तरतर्फ त्रिवेणी मोड जाने मार्ग, त्रिवेणी मोडबाट न्यू रोड हुँदै त्रिभुवन चोक आउने मार्ग तथा बीपी चोकको टर्निङ क्षेत्रमा बैरिकेडिङको व्यवस्था गरिदिन प्रशासन र सुरक्षा निकायसँग आग्रह गरिएको छ।
जुलुसलाई व्यवस्थित र अनुशासित बनाउन समितिको तर्फबाट स्वयंसेवक परिचालन गरिने जनाइएको छ। साथै, समाजमा शान्ति, सद्भाव र अनुशासनको सन्देश प्रवाह गर्ने उद्देश्यले जुलुसमा डिजे प्रयोग नगर्ने निर्णय गरिएको समितिले जनाएको छ। डिजे पूर्ण रूपमा बन्द गराउने अभियानलाई सफल बनाउन व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको र यस अभियानमा प्रशासन तथा सरोकारवाला निकायको सहयोग अपेक्षित रहेको उल्लेख गरिएको छ।
समितिले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा शान्तिपूर्ण वातावरण कायम राख्दै पर्व मनाउन प्रशासन, सुरक्षा निकाय र सर्वसाधारण सबैको सहयोगको अपेक्षा गरेको छ।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

नयाँ लेखहरु