नेपालगञ्ज ३१ साउन । ईद मिलादुन्नबी (मोहम्मद डे) का अवसरमा निकालिने जुलुसलाई व्यवस्थित, मर्यादित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले नेपालगञ्जमा मुस्लिम समुदायका अगुवा, बुद्धिजीवी तथा सरोकारवालाहरूको निर्णायक बैठक सम्पन्न भएको छ।
बैठकमा सहभागीहरूले धार्मिक कार्यक्रमको गरिमा, सामाजिक सद्भाव तथा सार्वजनिक शान्ति कायम राख्न जुलुसका क्रममा DJ Sound System तथा अत्यधिक ध्वनि प्रयोग नगर्न आग्रह गरेका छन्। धार्मिक कार्यक्रमलाई अनुशासित र मर्यादित बनाउँदै इस्लाम धर्मले सिकाएको शान्ति, सहिष्णुता र भाइचाराको सन्देश समाजमा प्रवाह गर्नुपर्नेमा जोड दिइएको थियो।
बैठकमा वक्ताहरूले धार्मिक आस्था र परम्पराको सम्मान गर्दै जुलुसलाई सभ्य, सौहार्दपूर्ण र अनुशासित ढंगले सम्पन्न गराउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए। नेपालगञ्जको बहुधार्मिक तथा बहुसांस्कृतिक पहिचानलाई थप मजबुत बनाउन आपसी सम्मान, सहकार्य र सामाजिक एकता अपरिहार्य रहेको उनीहरूको भनाइ थियो।
उनीहरूले “धर्म फरक हुन सक्छ, तर सद्भाव, शान्ति र मानवता सबैको साझा जिम्मेवारी हो” भन्ने सन्देशलाई व्यवहारमा उतार्दै ईद मिलादुन्नबीको अवसरलाई सामाजिक एकता र भाइचाराको पर्वका रूपमा मनाउन आह्वान गरेका छन्।
मुस्लिम समुदायका अगुवाहरूको यस सकारात्मक पहललाई स्थानीयवासी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले स्वागत गरेका छन्। यस वर्षको ईद मिलादुन्नबी जुलुस शान्ति, एकता, अनुशासन र सामाजिक सद्भावको उत्कृष्ट उदाहरण बन्ने विश्वास व्यक्त गरिएको छ।





