नेपालगञ्ज, ८ भदौ । बाँकेको नेपालगञ्जमा सञ्चालित केही स्पामा बालिकाहरूलाई काममा लगाइएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेले गरेको अनुगमन तथा छापामारीका क्रममा ३ जना स्पा सञ्चालक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा जारी प्रेस विज्ञप्तिअनुसार विभिन्न स्पामा गरिएको चेकजाँचका क्रममा ७ जना बालिकालाई उद्धार गरिएको छ। उद्धार गरिएका बालिकालाई काममा लगाएको आरोपमा तीन जना स्पा सञ्चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगरस्थित न्यू प्लेजर स्पाकी सञ्चालिका भारतीय नागरिक गुडिया खान, आयुर्वेदिक रिल्याक्स स्पाकी सञ्चालिका दुर्गा थारु तथा नेपालगञ्ज–२ स्थित रिल्याक्स स्पाका सञ्चालक तर्कराज देवकोटा रहेका छन्।
प्रहरीका अनुसार बालबालिका सम्बन्धी ऐन, २०७५ बमोजिम म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ। बालिकाहरूलाई जोखिमपूर्ण तथा कानुनविपरीत श्रममा लगाइएको आशंकामा प्रहरीले विशेष निगरानी तथा अनुगमनलाई निरन्तरता दिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतित सिंह राठौरले बालबालिकाको अधिकार संरक्षणमा कुनै सम्झौता नगर्ने बताउँदै यस्ता गतिविधिविरुद्ध कडा कारबाही जारी रहने जानकारी दिएका छन्।





