नेपालगञ्ज, असोज १६ गते।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ ले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूलाई समयमै नविकरण गर्न आग्रह गरेको छ।
वडा कार्यालयका अनुसार हालसम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने केही लाभग्राहीहरूले आफ्नो विवरण नविकरण नगरेकाले मिति २०८३ असोज २४ गतेभित्र अनिवार्य रूपमा नविकरण गराउन अनुरोध गरिएको हो।
वडा कार्यालयले तोकिएको अवधिभित्र नविकरण नगराएमा सम्बन्धित लाभग्राहीको नाम प्रणालीबाट हट्न सक्ने जनाएको छ। त्यसपछि पुनः नयाँ प्रक्रियामार्फत दर्ता गराउनुपर्ने अवस्था आउन सक्ने भएकाले सबै लाभग्राहीलाई यथाशीघ्र वडा कार्यालयमा उपस्थित भई नविकरण प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।
सामाजिक सुरक्षा भत्ता वितरणलाई व्यवस्थित, पारदर्शी र अद्यावधिक बनाउन नविकरण प्रक्रिया आवश्यक रहेको वडा कार्यालयले जनाएको छ। वडा कार्यालयले लाभग्राही तथा उनका परिवारजनलाई समयमै आवश्यक कागजातसहित उपस्थित भई नविकरण गराउन समेत अनुरोध गरेको छ।




