नेपालगञ्ज, साउन १५ । सुनसरीको देवानगञ्जमा गत साउन १० गते भएको दुःखद् घटनापछि पूर्वी तराईका केही जिल्लामा विकसित परिस्थितिलाई मध्यनजर गर्दै बाँके जिल्लामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा सार्वजनिक शान्ति कायम राख्ने उद्देश्यले सद्भाव र्याली आयोजना गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेको समन्वयमा शुक्रबार आयोजित सर्वदलीय तथा सर्वपक्षीय बैठकले साउन १६ गते बिहान ७:३० बजे नेपालगञ्जको बी.पी. चोकदेखि धम्बोझी (वीरेन्द्र चोक) सम्म सद्भाव र्याली आयोजना गर्ने समझदारी गरेको हो।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सार्वजनिक अपिलमार्फत जिल्लामा क्रियाशील राजनीतिक दल, जनप्रतिनिधि, सामाजिक संघसंस्था, सञ्चारकर्मी, मानवअधिकारकर्मी, धार्मिक गुरु, राष्ट्रसेवक कर्मचारी, खेलाडी, कलाकार, साहित्यकार, विद्यार्थी, उद्योगी–व्यवसायी तथा आम नागरिकलाई र्यालीमा सहभागी भई सामाजिक एकता र सद्भावको सन्देश प्रवाह गर्न आग्रह गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्रीद्वारा जारी अपिलमा जिल्लाको संवेदनशीलतालाई ध्यानमा राख्दै आपसी सद्भाव, सहिष्णुता र शान्ति कायम राख्न सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ।





