नेपालगञ्ज, साउन १६ । दैलेखी समाज बाँकेले आफ्नो १८औँ साधारण सभा तथा ८औँ अधिवेशन आगामी साउन १७ गते आइतबार आयोजना गर्ने भएको छ।
समाजले सार्वजनिक गरेको सूचनाअनुसार वडा प्रहरी कार्यालय नजिक म्याजेस्टिक पार्टी प्यालेसमा बिहान ११ः३० बजेदेखि साधारण सभा तथा अधिवेशन सञ्चालन हुनेछ। जिल्ला प्रहरी कार्यालय, बाँके नजिकै रहेको उक्त स्थानमा कार्यक्रम आयोजना गरिने जनाइएको छ।
समाजमा आबद्ध सम्पूर्ण बाँकेवासी दैलेखीहरूलाई कार्यक्रममा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ। अधिवेशनमार्फत समाजको आगामी नेतृत्व चयनका साथै संगठनको भावी कार्ययोजना, गतिविधि तथा विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
दैलेखी समाज बाँकेले जिल्लामा बसोबास गर्ने दैलेखी समुदायबीच आपसी सद्भाव, एकता र सहकार्य अभिवृद्धि गर्दै विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको छ।





