नेपालगञ्ज, साउन १६ । गोपाल नीना फाउन्डेसन नेपालको आयोजनामा शनिबार नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरमा विशेष सरसफाइ अभियान सम्पन्न भएको छ।
वातावरण संरक्षण, धार्मिक स्थलको स्वच्छता अभिवृद्धि तथा सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा विभिन्न सरकारी तथा गैरसरकारी संस्था, सामाजिक संघ–संस्था तथा स्वयंसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अभियानको सफलताका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, समन्वय तथा सक्रिय सहभागिता जनाउने सम्पूर्ण संस्था तथा व्यक्तित्वप्रति फाउन्डेसनले धन्यवाद ज्ञापन गरेको छ। विशेष रूपमा नेपालगञ्ज उपमहानगरपालिका, वडा नं. २ कार्यालय, नेपालगञ्ज साइक्लिङ क्लब, बाँके जिल्ला साइक्लिङ संघ, नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA), PEAN, बागेश्वरी मन्दिर सञ्चालन समिति, बाँके जिल्ला स्ट्रेन्थ लिफ्टिङ संघ तथा नेशनल पाथ ल्याबप्रति फाउन्डेसनले कृतज्ञता व्यक्त गरेको छ।
फाउन्डेसनका अनुसार सम्बन्धित संस्थाहरूको सक्रिय सहयोग र सहकार्यका कारण अभियान थप व्यवस्थित, प्रभावकारी र सफल बन्न पुगेको हो। सरसफाइ अभियानले धार्मिक स्थलको सौन्दर्य संरक्षणका साथै स्वच्छ वातावरण निर्माणमा सकारात्मक योगदान पुर्याएको विश्वास व्यक्त गरिएको छ।
गोपाल नीना फाउन्डेसन नेपालका जनसम्पर्क अधिकृत विजयेन्द्र जीसीले आगामी दिनमा पनि यस्तै सहयोग, सहकार्य र सहभागिता निरन्तर प्राप्त हुने अपेक्षा व्यक्त गर्दै अभियानलाई सफल बनाउन योगदान गर्ने सबै संस्था, स्वयंसेवक तथा सहभागीप्रति आभार प्रकट गर्नुभयो।
फाउन्डेसनले सामाजिक उत्तरदायित्व, वातावरण संरक्षण तथा सामुदायिक हितसँग सम्बन्धित कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने जनाएको छ।





