देउखुरी, साउन १६ । भालुबाङ होटल व्यवसायी समितिले शनिबार घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमअन्तर्गत समितिका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले व्यवसायीहरूको व्यवसाय स्थलमा पुगेर नवीकरण, नयाँ दर्ता तथा सदस्यता सम्बन्धी कार्यहरूका बारेमा जानकारी आदानप्रदान गरेका थिए। साथै, समितिको आगामी कार्ययोजना, व्यवसायीका समस्या, सुझाव तथा होटल व्यवसायको प्रवर्द्धनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा व्यवसायीहरूले आफ्नो व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका समस्या, चुनौती तथा सुधारका सम्भावनाबारे धारणा राखेका थिए। समितिले व्यवसायीका सुझावलाई आगामी योजनामा समेट्दै व्यवसायी हितका लागि थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
भालुबाङ होटल व्यवसायी समितिले व्यवसायी र कार्यसमितिबीच समन्वय तथा सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यले यस्ता घरदैलो तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।





