नरैनापुर, बाँके, साउन १९ । विपद् जोखिम न्यूनीकरण तथा आपतकालीन उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले नरैनापुर गाउँपालिकाले इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेलाई अत्यावश्यक विपद् उद्धार सामग्री हस्तान्तरण गरेको छ।
मंगलबार इलाका प्रहरी कार्यालय भगवानपुर तथा मातहत क्षेत्रभित्र हुन सक्ने विभिन्न प्रकारका विपद्का घटनामा तत्काल उद्धार तथा व्यवस्थापन गर्न प्रयोग हुने सामग्री गाउँपालिकाले उपलब्ध गराएको हो।
उक्त सामग्री हस्तान्तरणका लागि नरैनापुर गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विपद् व्यवस्थापन शाखा तथा सम्पूर्ण गाउँपालिका परिवारप्रति इलाका प्रहरी कार्यालय भगवानपुरले आभार व्यक्त गरेको छ।
प्रहरी कार्यालयले प्राप्त सहयोगले विपद् पूर्वतयारीलाई थप सुदृढ बनाउनुका साथै आपतकालीन उद्धार तथा प्रतिक्रिया क्षमतामा उल्लेखनीय वृद्धि हुने जनाएको छ। साथै समुदायको सुरक्षाका लागि स्थानीय तह र सुरक्षा निकायबीचको सहकार्य तथा साझा जिम्मेवारीको उत्कृष्ट उदाहरणका रूपमा यस सहयोगलाई लिइएको बताइएको छ।
“सँगै पूर्वतयारी, सँगै उद्धार, सँगै सुरक्षा” भन्ने नारासहित गरिएको यस पहलले सुरक्षित, सक्षम र विपद् प्रतिरोधी नरैनापुर निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
स्थानीय तह र सुरक्षा निकायबीचको निरन्तर सहकार्य तथा ऐक्यबद्धताबाट मात्रै समुदायको सुरक्षा सुनिश्चित गर्न सकिने भन्दै आगामी दिनमा समेत यस्ता समन्वयात्मक कार्यलाई निरन्तरता दिइने जनाइएको छ।





