नेपालगन्ज, भदौ १३ । राष्ट्रिय जनमत पार्टी नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा प्रशिक्षण कार्यक्रम तथा रसुवागढी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको सहयोगार्थ राहत संकलन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा संगठन सुदृढीकरण, पार्टी विस्तार तथा समसामयिक राजनीतिक विषयवस्तुमा केन्द्रित छलफल गरिएको थियो। प्रशिक्षण कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूलाई संगठन विस्तार र जनसम्पर्क अभियानलाई प्रभावकारी बनाउने विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख प्रशिक्षक ‘बुलडोजर बाबा’ले संगठन विस्तार, पार्टीको नीति तथा भावी कार्ययोजनाबारे विस्तृत रूपमा प्रशिक्षण दिनुभएको थियो। उहाँले पार्टीलाई जनस्तरसम्म पुर्याउन सबै कार्यकर्ताले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
यस अवसरमा रसुवागढीमा बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा सहयोगका लागि आर्थिक संकलनसमेत गरिएको थियो। कार्यक्रममा विभिन्न केन्द्रीय, प्रदेश तथा स्थानीय तहका पदाधिकारी, नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
आयोजकका अनुसार प्रशिक्षण कार्यक्रम पूर्ण रूपमा सफल भएको तथा यसले संगठनलाई थप सुदृढ र गतिशील बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।






