नेपालगञ्ज, भदौ १४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने मूल नारासहित गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष प्रदीप चौधरीको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन प्रमुख अतिथि तथा संस्थाकी ज्येष्ठ सदस्य गिरीजा श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। कार्यक्रममा जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम प्रसाद सुवेदी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

साधारणसभामा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदनअनुसार संस्थाले सदस्यहरूमा १० करोड २१ लाख १५ हजार ५ सय ३७ रुपैयाँ ९७ पैसा कर्जा लगानी गरेको जनाएको छ। संस्थाको शेयर पुँजी १ करोड १५ लाख ४२ हजार रुपैयाँ पुगेको छ भने सदस्यबाट संकलित निक्षेप ९ करोड ५४ लाख ३४ हजार ३ सय ९४ रुपैयाँ ८३ पैसा रहेको छ। प्रतिवेदनमा संस्थाको कुल कारोबार १३ करोड ८५ लाख २३ हजार ४ सय ६१ रुपैयाँ ४६ पैसा पुगेको उल्लेख गरिएको छ।

कार्यक्रममा संस्थाका सल्लाहकार तथा पूर्व अध्यक्ष प्रेम बहादुर शाह, सल्लाहकार तथा पूर्व अध्यक्ष सुरेन्द्र सिंह सरदार, नेपालगञ्ज उपमहानगरपालिका सहकारी शाखा प्रमुख प्रबिन राना, ॐ साई बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धक शम्भु बहादुर अधिकारी तथा नेपाल पत्रकार महासंघ बाँके जिल्ला सदस्य सलामत अली शेषलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमका अवसरमा उत्कृष्ट बचतकर्ताहरू तथा संस्थाको विकासमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। साधारणसभाले आगामी वर्षका नीति, योजना तथा कार्यक्रमहरू अनुमोदन गर्दै सहकारीलाई अझ पारदर्शी, उत्तरदायी र सदस्यमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।








