
नेपालगञ्ज १५ बाँके । रसुवा लगायत देशका विभिन्न क्षेत्रमा आएको बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले उलमा फाउन्डेसन नेपाल, शाखा जिल्ला बाँकेको संयोजनमा १८ वटा मस्जिदबाट संकलित रु. १ लाख ५८ हजार २३६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
उलमा फाउन्डेसन नेपाल शाखा जिल्ला बाँकेको पहलमा विभिन्न मस्जिद तथा मुस्लिम समुदायबाट स्वेच्छिक रूपमा संकलित उक्त रकम प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको हो। संकलन अभियानअन्तर्गत गणेशपुर, परसपुर, जमुनाहा, बिर्ता, जानकी, मनपुर, चिल्किया, नरैनापुर, डुडुवा, फत्तेपुर, सुर्खेतपुर्वा लगायत क्षेत्रका १८ मस्जिदबाट सहयोग जुटाइएको थियो।
राहत संकलन तथा हस्तान्तरण कार्यक्रम फाउन्डेसनका अध्यक्ष मौलाना मोहम्मद नसीरुद्दीन अन्सारीको नेतृत्वमा सम्पन्न भएको थियो। उहाँले विपद्को समयमा मानवता, सामाजिक उत्तरदायित्व र आपसी सहयोगको भावनालाई अझ सुदृढ बनाउन सबै समुदाय एकजुट हुनुपर्ने बताउनुभयो। साथै सहयोग गर्ने सम्पूर्ण मस्जिद, इमाम, व्यवस्थापन समिति तथा दाताहरूप्रति आभार व्यक्त गर्नुभयो।
उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढी तथा विपद्पीडित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा उपयोग हुने अपेक्षा गरिएको छ।
उलमा फाउन्डेसन नेपाल शाखा जिल्ला बाँकेले धार्मिक तथा सामाजिक संस्थाहरूको सहकार्यबाट संकलित रकम पारदर्शी रूपमा सरकारी राहत कोषमा जम्मा गरेर मानवीय सेवाको उदाहरण प्रस्तुत गरेको जनाएको छ। फाउन्डेसनले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
यस पहललाई विपद्को समयमा धार्मिक संस्थाहरूको सक्रियता, सामाजिक एकता र मानवीय सेवाको सकारात्मक नमूनाका रूपमा हेरिएको छ।





