बाँके, असोज १४ गते ।
नेपालगन्जमा १७ वर्षीय युवकलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको घटनामा एक महिना बितिसक्दा पनि आरोपी पक्राउ नपरेको भन्दै पीडितका बुबाले प्रहरी अनुसन्धानप्रति असन्तुष्टि जनाएका छन्।
नेपालगन्ज उपमहानगरपालिका–१० का व्यवसायी विजय कुमार वैश्यले बुधबार पत्रकार सम्मेलनमार्फत घटना भएको लामो समय बितिसक्दा पनि आरोपी पक्राउ नपर्नु दुःखद् भएको बताएका हुन्। सुरुमा प्रहरीले जाहेरी लिन नमानेको र मुद्दा दर्ता भइसकेपछि पनि आरोपी पक्राउ गर्न पर्याप्त चासो नदिएको उनको आरोप छ।

वैश्यका अनुसार भदौ १३ गते साँझ करिब ६ बजे उनका १७ वर्षीय छोरा स्लोक वैश्य नेपालगन्ज उपमहानगरपालिका–११ मा रहेको मोबाइल पसलमा बसेका थिए। उनी खाना खान गएको समयमा मोटरसाइकलमा आएका जाहेरी दरखास्तमा उल्लेखित आदित्य गुप्ता, अभिनव शाह लगायतको समूहले छोरालाई पसलबाट बाहिर निकालेर कुटपिट गर्नुका साथै खुकुरी प्रहार गरेको वैश्यले बताए।
घटनामा छोरा गम्भीर घाइते भएको उनले बताए। घटनापछि जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गराउन पुगे पनि प्रहरीले सामान्य चोटपटकको घटना भन्दै ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरी लिन नमानेको उनको आरोप छ।“खुकुरीको प्रहार अझै एक इन्च गहिरो भएको भए मेरो छोराको ज्यान जान सक्थ्यो,” वैश्यले भने, “यस्तो गम्भीर घटना हुँदा पनि प्रहरीले सुरुमा जाहेरी लिन मानेन।”प्रहरीले जाहेरी लिन नमानेपछि जिल्ला सरकारी वकिल कार्यालयमा गएर जाहेरी दिएको र त्यसपछि मात्रै प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको उनले बताए।मुद्दा दर्ता भएको समेत एक महिना पुग्न लाग्दा आरोपी पक्राउ नपरेको भन्दै वैश्यले प्रहरीको भूमिकामाथि प्रश्न उठाएका छन्। प्रहरी प्रमुखले आरोपी पक्राउ गर्न निर्देशन दिए पनि मुद्दा फाँटमा रहेका प्रहरीले आवश्यक चासो नदिएको उनको आरोप छ।
“एक महिनादेखि प्रहरी कार्यालय धाइरहेको छु। अहिलेसम्म न्याय पाउन सकेको छैन,” उनले भने, “घटनामा संलग्नहरू नेपालगन्जमै घुमिरहेको प्रहरीलाई थाहा छ। तर, उनीहरूलाई पक्राउ गरिएको छैन।”बीच सडकमा खुकुरी प्रहारजस्तो गम्भीर घटना हुँदा पनि आरोपी पक्राउ नपर्नु चिन्ताको विषय भएको भन्दै वैश्यले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन्।यता, जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले घटनासम्बन्धी मुद्दा दर्ता भइसकेको जानकारी दिनुभयो । उनका अनुसार आरोपीविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको छ।“मुद्दा दर्ता भइसकेको छ। पक्राउ पुर्जी पनि जारी भएको छ,” राठौरले भने, “आरोपीको खोजतलास तीव्र बनाएका छौँ।”आरोपी भारततर्फ गएको सूचना प्राप्त भएको र सोही आधारमा समेत प्रहरीले खोजतलास गरिरहेको उनले बताए।“उनीहरू भारततिर भागेको सूचना प्राप्त भएको छ। खोजतलास निरन्तर जारी छ,” राठौरले भने, “पक्राउ परेलगत्तै कानुनी कारबाही अघि बढाउँछौँ।”




